नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ को मृत्यु , ४५ घाइते
नुवाकोट । नुवाकोटको पूर्वी भेगमा रहेको सूर्यगढी गाउँपालिकामा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
नुवाकोट समुद्रटारबाट त्रिशुली तर्फ जाँदै गरेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस सूर्यगढी गाउँपालिका–५ मा सडकबाट एक सय मिटर तल खस्दा पन्चकन्या गाउँपालिका खप्रेसकी ३२ वर्षीय मीनु तामाङ र चितवनको मुग्लिङका ५७ वर्षीय बलराम तिवारीको मृत्यु भएको छ भने ४५ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।
घाइतेहरुमध्ये १० जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्यको नुवाकोटमै उपचार भइरहेको प्रहरीले जनाएको छ । साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।