प्रधानमन्त्रीको इम्युनिटी बढाउन अदुवा, लसुन र बेसार उपहार - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

प्रधानमन्त्रीको इम्युनिटी बढाउन अदुवा, लसुन र बेसार उपहार



राजविराज । कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा गर्ने गरेको भन्दै सप्तरीका विभिन्न संघ संस्था तथा राजनितिक दल आवद्घ संगठनले आईतबार विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

सदरमुकाम राजविराजमा नेपाली काँग्रेसका युवा नेता मो. ईर्साद अंसारीको नेतृत्वमा सामाजिक दुरी कायम गर्दै गरिएको प्रदर्शन नगरपरिक्रमा पश्चात प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

काग्रेस समर्थित युवाहरुले क्वारेन्टाईन र आईसोलेसन व्यवस्थित गर, लकडाउन अवधिको कर र बैंकको ब्याज मिनाहा गर, गरिब मजदुर परिवारलाई राहतको व्यवस्था गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारीको निवासमै पुगेर ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाएपछि संचारकर्मीसंग कुरा गर्दै काँग्रेसका युवा नेता मो. अंसारीले कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा बढी गर्र्ने गरेकाले खबरदारी गर्न विरोध प्रदर्शन र ज्ञापन पत्र पठाइएको बताए ।

यसैगरी आईतबारै राष्ट्रभक्त आमनेपाली जनताको तर्फबाट महिलाहरुको एक समुहले पनि प्रदर्शन गर्दै ज्ञापनपत्र सँगै इम्युनिटि बढाउन लसुन, अदुवा र बेसार समेत प्रधानमन्त्री समक्ष पुर्याइदिन प्रजिअलाई बुझाएको छ ।

संक्रमण रोकथाम प्रभावकारी ढंगले गर्नुपर्ने बेलामा प्रधानमन्त्रीले अदुवा, लसुन र बेसार लगायतका बस्तुसेवनबाट रोग प्रतिरोधात्मक शक्ति बृद्घि हुने भन्ने अभिव्यक्ति दिएकाले उहाँलाई समेत त्यस्तो शक्ति बढाउन सहयोग पुगोस भनेर लसुन, बेसार र अदुवा लगायतका सामग्री आफुहरुले पठाउन लागेको प्रदर्शनमा सहभागी सुनिता साहले बताईन ।

प्रधानमन्त्रीले कोरोना रोग संक्रमण नियन्त्रण र यसबाट परेको प्रभाव व्यवस्थापन गर्नुको साटो लसुन, बेसार, अदुवा, जिरा, धनिया उपभोगमा जोड दिएकाले सांकेतिक विरोध स्वरुप यस्तो सामग्री पठाइएको उनको भनाई छ ।

यता पिसिआर परिक्षण सुस्त गतिमा भएको, मापदण्ड विपरित क्वारेन्टाईन निर्माण गरी क्वारेन्टाईनमै संक्रमण बढाउने खतरा उत्पन्न भएको तथा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने श्रमिक बेरोजगार भई भोकभोकै बस्नु पर्ने अवस्था रहेको भन्दै स्थानियले अबिलम्ब यसको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।