र्‍याफ्टिङ तालिम सञ्चालन गर्न पर्यटन बोर्ड र नाराबीच सम्झौता - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

र्‍याफ्टिङ तालिम सञ्चालन गर्न पर्यटन बोर्ड र नाराबीच सम्झौता



काठमाडौं – नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको जनाएको छ। पर्यटन बोर्डका अनुसार याे परियोजना गत वर्षदेखि सुरु भएकाे हाे।

परियोजनाअन्तर्गत नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)सँग तालिम सञ्चालनका लागि सोमबार सम्झौता भएको बोर्डले जनाएको छ। सम्झौतापत्रमा बोर्डका सिइओ डा धनन्जय रेग्मी र नारा अध्यक्ष गंगाप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।

सिइओ रेग्मीले यसअघि पनि बोर्डले नारासँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यो तालिमले जलयात्रा क्षेत्रमा थप नयाँ रोजगारी सिर्जना हुने बताए।

सम्झौता अनुसार नाराले त्रिशुली, भोटेकोशी र कालीगण्डकी क्षेत्रमा गरी करिब एकसय जनालाई र्याफ्टिङ सम्बन्धि तालिम प्रदान गरिने छ। दुई सातासम्म सञ्चालन गरिने यो तालिमले स्थानीयस्तरमा जलयात्राको लागि नयाँ जनशक्ति तयार हुने अपेक्षा गरिएको छ। जेठ १५ गते तीन वटै नदीमा तालिम सम्पन्न गरिने छ।

त्रिशुली नदीमा देशैभरबाट र अन्य दुर्ई नदीमा स्थानीयलाई तालिम प्रदान गरिने जनाउँदै बोर्डले नेपालमा हाल करिब सात सय तालिम प्राप्त र्‍याफ्टिङ गाइडहरू रहेको जानकारी दिएको छ। यसमा अप्रत्यक्ष रुपमा आश्रित जनशक्ति करिब दुई हजार भन्दा बढि रहेको बताइन्छ।

दुई वर्ष ६ महिना अवधिको यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सह–लगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ।

यो परियोजनाले पहिलो चरणमा पर्यटन क्षेत्रका करिब छ हजार पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिनेछ । यस्तै दोस्रो चरणमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय जनशक्तिको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गरिने जनाइएको छ ।