कांग्रेसको प्रतिपक्षी बन्यो नेविसंघ - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

कांग्रेसको प्रतिपक्षी बन्यो नेविसंघ



काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा पनि प्रतिपक्षी भूमिकामा रहेको आफ्नै माउपार्टी कांग्रेस मौन बसेको भन्दै भ्रातृ संगठन नेपाल विद्यार्थी संघले खबरदारी गरेको छ ।  नेविसंघले शुक्रबार राजधानीको बालमिकि क्याम्पसमा सरकार र आफ्नै माउपार्टी कांग्रेस बिरुद्ध खबरदारी कार्यक्रम आयोजना गरेको हो ।

सभा मार्फत सरकारले एक वर्ष बित्दा पनि जनताको भावनाअनुरूप काम गर्न नसकेका, प्रतिपक्षी दल मौन बसेको र मौनताकै कारण सरकारले अराजकता बढाएको नेविसंघका नेताहरुले बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाए । उनले सरकारको अराजकतामा कांग्रेस नेतृत्व मौन रहेको भन्दै आक्रोश समेत पोखे ।

‘हाम्रो पार्टी सभापति पार्टी कब्जा गर्न व्यस्त हुनुहुन्छ, उता प्रधानमन्त्री देश कब्जा गर्न खोज्दै छन, ‘दुवै अधिनायकवादी नेतृत्वको खिलापमा हाम्रो अभियान हो,’ काफ्लेले भने ।
उनले पार्टी सभापतिलाई गुटभन्दा माथि उठेर समग्र पार्टीको नेता बन्न समेत सुझाव दिए ।
नेताबलदेब तिमल्सिनाले सरकारले एक पछि अर्को गर्दै जनताको मतको खिलाफमा अघि बढिरहेको बताए । उनले आफ्नै नेतृत्वलाई समेत वैद्य र विप्लवको सहारामा सरकार बिरुद्ध कदम चाल्न भन्दा आफ्नै बलबुत्तामा सरकारको खिलनफमा उत्रन सुझाए ।

कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा नेविसंघका नेताहरू डिल्लीराम सुवेदी, माधव ढकाल, सुशील भट्ट, युवराज पाण्डे, जित शेरचन ,गणेश सापकोटा , ईश्वर अधिकारी, विपिन अधिकारी, नमराज त्रिपाठी, हरी आचार्यलगायतले सम्बोधन गरेका थिए ।
सरकारको अराजकतामा कांग्रेसले मौनता साँधेका कारण आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध खबरदारी गरेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका हुन ।

फाइल तस्बिर