नेविसंघमा तोकियो ३२ वर्षे उमेर हद: पौडेल र सिटौलाको बिरोध - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

नेविसंघमा तोकियो ३२ वर्षे उमेर हद: पौडेल र सिटौलाको बिरोध



काठमाडौः नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ। आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले पहिलाेपाेस्टलार्इ बताए।

तर, साे निर्णयकाे पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी लगायतका लगायत नेताले निर्णयप्रति असहमति जनाएका छन्।

संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको ‘नेविसंघको विधान २०२७ सातौं संशोधन २०७५’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्दतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले फरक मत राखेका छन्। छुट्टै विधान मस्यौदा प्रस्तुत भएको र अध्ययन गर्ने समयसम्म नदिई विधान जस्तो महत्वपूर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी पास गरिएको उनीहरुको भनाइ छ।

‘यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भीर आघात पारेको हाम्रो ठहर छ। हामी यो निर्णयमा असहमति प्रकट गर्दछौं,’ नोट अफ डिसेन्टमा उनीहरुले लेखेका छन्।

नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ। कांग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र इतर पक्षको उमेर सम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान थियो।  नेविसंघमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै संघको १२ औँ महाधिवेशन गर्ने बाटो त खुलेको छ।

तर,यसअघि नेविसंघले कातिक १६, १७ र १८ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय बाहेक अरु कुनै गतिविधि गरेकाे छैन। जसका लागि असाेजमा विद्यालय, क्याम्पस, जिल्ला र प्रदेशकाे महाधिवेशनको कार्यक्रम सुरु गर्नु पर्ने थियाे। अाजसम्म त्यसबारे कुनै काम कारबाही भएकाे छैन। पार्टीले देखाएकाे उदासीनताले महाधिवेशन नै अनिश्चित बनेको छ।

नेविसंघको ११ औं महाधिवेशनको कार्यकाल भदौ २ गते नै सकिएको र मंसिर २ गतेसम्म १२ औं महाधिवेशन नगरे नेविसंघको यो कार्यसमिति स्वतः विघटन हुने छ।