नेविसंघको महाधिवेशन छिट्टै हुने
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उनले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताए । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका शर्माले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरू बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको टिप्पणी गरे ।
महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्ने पक्षमा नरहेको उल्लेख गरे । उनले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएका समस्याहरूलाई प्रक्रियामा लगेर समाधान गर्न लागिपरेको बताए ।