एनआरएनए चुनावको मिति घोषणा: निर्वाचन कार्यतालिका पनि सार्वजनिक - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

एनआरएनए चुनावको मिति घोषणा: निर्वाचन कार्यतालिका पनि सार्वजनिक



काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन पुस ११ र १२ (२६ र २७ तारिख) मा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ (डिसेम्बर १५ तारिख)मा हुने निर्वाचन मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रलायले असोज ११ र कात्तिक १७ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि निर्वाचन रोकिएको थियो । तर, अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको निर्णयलाई चुनौति दिँदै पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । आइतबार अदालतले परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि संघले निर्वाचनको प्रक्रिया अघि बढाएको हो ।

निर्वाचन समितिका अनुसार अब निर्वाचन तोकिएकै मितिमा हुने जनाइएको छ । मंसिर २० (डिसेम्बर ६)मा मतदाता नामावाली प्रकाशन, २१(डिसेम्बर ७)मा मतदाता नामावली उपर दाबी विरोध, २४ (डिसेम्बर १०) मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, मंसिर २५ (डिसेम्बर ११) मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ (डिसेम्बर १२) मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ (डिसेम्बर १३)मा उम्मेदवारविरुद्ध दाबी विरोध, २८ (डिसेम्बर १४) मा उजुरीउपर निर्णय, २९ (डिसेम्बर १५) मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ (डिसेम्बर १७) मा उम्मेदवारको मनोनयनपत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, पुस ३ (डिसेम्बर १८) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

१० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सयजनाले उम्मेदवारी घोषणा गरेका छन् । संघको केन्द्रीय निर्वाचनका लागि ६४ देशबाट ३५ सयजना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये यूके, अमेरिका र अस्ट्रेलियाका प्रतिनिधि चयनमा विवाद रहेको जनाइएको छ ।