भारतीयलाई निसमको आग्रह : तपाईहरू नोक्सानमा पर्नुहोला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतीयलाई निसमको आग्रह : तपाईहरू नोक्सानमा पर्नुहोला



एजेन्सी – लड्सको मैदानमा आज आइतबार विश्वकप क्रिकेटमा नयाँ विश्वविजेताको उदय हुँदैछ। विश्वकप उपाधिका लागि आयोजक इङ्ल्याण्ड र न्युजिल्याण्डले एकअर्कालाई पछार्ने दाउमा हुनेछन ।

दुबैले आजसम्म विश्वकपको उपाधि जितेका छैनन्। त्यसैले फाइनल खेललाई लिएर दुबै देशका प्रशंसकहरू उत्साहित रहेका छन्।

जारी विश्वकपमा न्युजिल्याण्ड १८ रनले पराजित हुनुअघिसम्म भारतीय प्रशंसकलाई भारत नै फाइनल पुग्ने आशा थियो।

त्यसैले उनीहरूले पहिले नै फाइनल खेलको टिकट बुक गरेर राखेका थिए। अफशोच भारत सेमिफाइनलबाटै बाहिरियो।

अब सबै टिकट बुक भइसकेकाले इङ्ल्याण्ड र न्युजिल्याण्डका प्रशंसकहरूले टिकट पाइरहेका छैनन्। यसका कारण प्रशंसकहरूसँगै विश्व क्रिकेट काउन्सिलको समेत चिन्ता बढेको छ।

यस्तोमा न्युजिल्याण्डका अलराउण्डर जेम्स निसमले भारतीय प्रशंसकहरूसँग एउटा अपिल गरेका छन्।

अपिलमा उनले भारतीय प्रशंसकहरूले किनेका फाइनल खेलका टिकटहरू आफू फाइनल हेर्न नआउने भए, बेच्न आग्रह गरेका छन्। ट्वीट गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

‘प्रिय भारतीय क्रिकेटप्रेमीहरू, यदि तपाईहरू फाइनल हेर्न आउन चाहनुहुँदैन भने आफ्नो टिकटलाई आधिकारिक ठाउँबाट बेचिदिनुहोला। मलाई थाहा छ, यस्तो गर्दा तपाईहरूलाई कम फाइदा हुन सक्छ तर तपाईंहरू आफ्नो टिकट सच्चा क्रिकेटप्रेमीहरूलाई दिनुहोस् ताकी उनीहरूले फाइनल खेलको मजा लिन सकुन् । यो वास्तविक क्रिकेटप्रेमीहरूका लागि राम्रो हुन्छ। हुन त यसबाट तपाईंलाई थोरै नोक्सान हुन पनि सक्छ’, ट्वीटमा उनले लेखेका छन्।

निसमले यस्तो भन्नुको पछाडि खास कारण रहेको छ।

क्रिकइन्फोका अनुसार यसरी किनिएका टिकटहरूको पुनःविक्री सुरू भइसकेको छ।

इङ्ल्याण्ड र न्युजिल्याण्डका क्रिकेटप्रेमीहरू यसका लागि दोब्बर रकम तिर्न तयार भइरहेका छन् जबकी भारतीय समर्थकलाई यसमा उस्तो रूचि छैन। त्यसैले उनीहरू आफ्नो टिकट बेचिरहेका छन्। र यो प्रक्रियाको बिचमा आईसिसी आएको छ।

आईसिसीले आधिकारिक ठाउँबाट विक्री भएको टिकटलाई मात्र मान्यता दिने अन्यथा रद्ध गर्ने चेतावनी दिएको छ।