नारायणकाजीले गरे नेकपामा विवाद मिलेको संकेत - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नारायणकाजीले गरे नेकपामा विवाद मिलेको संकेत



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विवाद मिलेको संकेत गरेका छन् । मंगलबार सामाजिक संजालमा लेख्दै उनले यस्तो संकेत गरेका हुन् ।

पछिल्लो समय अर्ली महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाउने बालुवाटारको प्रस्तावले ओली-प्रचण्ड सहमति भएको चर्चा चलेकै बेला प्रवक्ता श्रेष्ठले महाधिवेशनलाई नै विवादबाट निकास निकाल्ने शुत्र बनाउनुपर्ने बताएका छन् ।

उनले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी नै बटमलाइन भएको बताएका छन्। पार्टीभित्रको आन्तरिक विवादलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

मंगलबार मध्यान्ह ट्विट गर्दै उनले भनेका छन्, पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण हो। तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ, श्रेष्ठले ट्विट गरेका छन्।

गएको असार १० गते सुरु भएको नेकपा स्थायी कमिटी बैठकबाट निकास निस्कन सकेको छैन। बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको राजीनामा उठेपछि बैठक अवरुद्ध हुँदै आएको छ।

असार २२ गतेपछि ६ पटक बैठक स्थगित भइसकेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको छ।