नारायणकाजीले छाडे प्रचण्डको साथ - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नारायणकाजीले छाडे प्रचण्डको साथ



काठमाडौं- नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेको संकेत गरेका छन् । उनी प्रचण्डसँग रुष्ट बनेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । हरेक दिन केपी ओलीको विरोध गर्ने श्रेष्ठले अहिले भने ओलीले गरेको संसद विघटनको बचाउ गरेका छन् ।

बुधवाको राष्ट्रिय सभा बैठकमा नेकपा प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा विघटन तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली एक्लैले चाहेर नभएको दाबी गरेका छन् ।यसअघि ओलीको कटू आलोचक रहेका नेता श्रेष्ठ प्रतिनिधि सभा विघटनमा त्यस अगाडिका सरकार र नेताहरू पनि जिम्मेवार रहेको बताएका हुन् ।

हरेक घटनामा कटु आलोचकको रूपमा देखिने र ओलीलाई स्वीकार्न नसकिने अभिब्यक्ति दिने श्रेष्ठ एकाएक ओलीको कदमको बचाउमा उभिनुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले यसलाई प्रचण्डसँग सम्बन्ध चिसिएको रूपमा हेरेका छन्। पछिल्लो समय मन्त्री बनाउने विषयमा उनीहरूबीच विवाद भएको चर्चा पनि चलेको थियो ।

ओलीले संविधान र देशको स्वाधीनता नै मास्न खोजेको आरोप लगाउने श्रेष्ठ ओलीप्रति किन नरम भए भन्ने चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।

राष्ट्रिय सभामा उनले भने, ‘यो मुलुकको यो बेहालका निम्ति केपी ओली मात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

श्रेष्ठले थपे – ‘अबको निकास आफूलाई बदलेर मात्र आउँछ, पार्टीहरुले, नेताहरुले र सरकारले आफूलाई बदलेर नयाँ ढंगले काम गर्ने तत्परता प्रस्तुत गर्नुपर्छ । अहिलेको सरकारलाई विशेषत प्रतिगमन विरोधी राजनीतिक पार्टीका नेताहरुलाई आफूलाई बदल्न र नेपाली जनताले अपेक्षा गरेअनुसार नयाँ ढंगले काम गर्न म अपील गर्न चाहान्छु ।’

उनले प्रतिनिधि सभा विघटनमा ओली मात्र दोष नभएको बताएर आफ्नै पार्टीमा असन्तुष्टि पोखेको चर्चा चलेको छ । उपप्रधानमन्त्री पद लिएर सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै जाने उनको चाहनामा पार्टीकै अन्य नेताहरूले ‘ब्रेक’ लगाइदिएपछि श्रेष्ठ फायर भएको बताइन्छ ।

श्रेष्ठ सरकारमा जान चाहेको भएतापनि संविधान बाधक बनेको छ । संविधानको धारा ७८ को ४ मा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्न नहुने उल्लेख छ ।’

श्रेष्ठ २०७४ सालको आम निर्वाचनमा गोर्खा क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । त्यसपछि उनी नेकपाको तर्फबाट राष्ट्रिय सभाको उपनिर्वाचनमा निर्वाचित बने ।