नियमित विद्युत महसुल बुझाउने ग्राहकलाई सीएफएल चीम वितरण
गोविन्द बीसी / बौनिया ।
नियमित रूपमा विद्युत महसुल बुझाउने उपभोक्तालाई विद्युत सहकारीले सीएफएल चीम वितरण गरेको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ स्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाले ग्राहकलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको हो ।
शनिबार आयोजित संस्थाको १२ औं वार्षिक साधारण सभामा उपभोक्ताको प्रोत्साहन र कदर गर्न भन्दै चीम वितरण गरिएको जनाएको छ ।
गत आर्थिक वर्ष २०७४/०७५ मा वर्षभरि नियमित रुपमा विद्युत महसुल बुझाउने ४० जना उपभोक्तालाई संस्थाकी अध्यक्ष डम्बरा घर्तीमगरबाट चिम वितरण गरिएको छ । संस्थामा कुल ७ सय १० जना उपभोक्ता रहेको भएपनि नियमित महसुल बुझाउने ग्राहक संख्या भने कम देखिएको छ ।
यसअघि संस्थाले संस्थाको सेवाक्षेत्रभित्रमा विद्युत चुहावट, अनाधिकृत उपयोग, विद्युत चोरी नियन्त्रण र विद्युत पोल, मिटरको अवस्था बुझ्न निरीक्षण तथा अनुगमन गरेको थियो । गएको असार १० मा नियमित महसुल नतिर्ने ग्राहकको लाइन काटेको विद्युत सहकारीले उपभोक्तालाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको भन्दै स्थानीय स्तरमा सेवाग्राहीले संचालक समितिको प्रसंशा समेत गरेका छन् ।
संस्थाले १२ औं वार्षिक साधारण सभाबाट कुल २६ लाख २६ हजार २ सय ८७ रुपैयाँ आयब्यय अनुमोदन गरेको छ । संस्थाका लेखा संयोजक पुरनसिंह बिकले प्रस्तुत गरेको आयब्यय सर्वसम्मत अनुमोदन गरिएको हो ।
सभाबाट संस्थाको बिधान बमोजिम ९ जना संचालक समिति सदस्य समेत छनोट गरिएको छ । छनोट भएका सदस्य मध्येबाट अध्यक्ष र उपाध्यक्ष चयन गर्ने बिधानमा उल्लेख छ । सोही अनुसार यसअघि अध्यक्ष र कोषाध्यक्ष बाहेकका पदमा सहमति भैसकेको छ । उक्त पदमा चयन भएका संचालक सदस्यबाट नै टुंगो लगाइने निर्वाचन मण्डलका सदस्य शिवराज गौतमले बताए ।यस्तै, ३ सदस्यीय लेखासमितिका लागि उम्मेदवारी दर्ता भएकाले पदाधिकारी चयनको प्रक्रिया गरिने बताइएको छ ।