निषेधाज्ञा तोड्नेलाई एक महिना कैद र जरिवाना पनि
काठमाडौं- कोरोना संक्रमण भयावह हुन् नदिन आज बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बिहान ६ बजेबाट १५ दिन निषेधाज्ञा कायम रहनेछ ।
काठमाडौंसंगै देशका १० स्थानमा निषेधाज्ञा घोषणा गरिएको छ । सरकारले स्थानीय तहहरूलाई निषेधाज्ञा लगाउने अधिकार दिएपछि कुनैले एक साता त कुनैले १५ दिन निषेधाज्ञा लगाएका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् । विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।
ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न दिइएको छ ।
यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन सञ्चालनमा रोक लगाइएको छैन ।
नियम पालना नगर्नेलाई कस्तो सजाय?
यदि नियम पालना नभए वा उल्लङघन भए सङ्क्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ।
उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु-याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लङघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय गर्न सक्नेछन्।
निषेधाज्ञामा के गर्न पाइन्छ?
–व्रतबन्ध तथा विवाह आयोजनाका लागि १५ जनासम्म सहभागी ९दुलहा र दुलही पक्षसहित० ले ब्यानरसहित दुई वटासम्म सवारीसाधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्ला आवतजावत गर्न ९पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए अनुमति लिनुपर्ने।
–चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिएर विवाह अथवा व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कन।
–अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न।
–एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरियर एवम् डाँक सेवा, ब्याङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारन्टीन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न।
–सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न।
–विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सञ्चालन गर्न।
–अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका लागि प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सवारी सञ्चालन गर्न।
–खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म।
–डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म
–बैंक तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजतप्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न।
–सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा सूचना सङ्कलन तथा सम्प्रेषणका लागि आवतजावत गर्न।
के गर्न पाइँदैन?
–सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न।
–अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन।
–अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन।
–खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन।