आइतबारदेखि निषेधाज्ञा थप कडा गरिने: बैंक,प्रेस र सरकारी कर्मचारी माथि निगरानी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

आइतबारदेखि निषेधाज्ञा थप कडा गरिने: बैंक,प्रेस र सरकारी कर्मचारी माथि निगरानी



काठमाडौं- मानिसहरूको भिड कम नभएको भन्दै आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ । शनिबार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी नरहेको निष्कर्ष निकालेको हो ।

आइतबारदेखि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले भोलिदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

‘भोलिदेखि ती संस्थालाई कडाइ गरेर निषेधाज्ञालाई प्रभावकारी बनाउने विचारमा छौं’ पराजुलीले भने । शनिबार सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलेको पाइएकाले अबदेखि ती निकायकै सिफारिसमै गाडी चलाउन अनुमति दिइने पराजुलीले बताए ।

प्रेस पासको हकमा अहिले सम्बन्धित संचारमाध्यमको परिचयपत्रलाई अनुमति दिइएपनि सूचना विभागकै पासलार्ई अनिवार्य गर्ने बारेमा पनि छलफल भैरहेको उनले जनाए ।

यसैबीच कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लघन गर्ने १२ सय बढीलाई प्रहरीले कारबाही गरेको छ ।शनिबार बिदाको दिनमा पनि सरकारी गाडी लिएर सडकमा निस्केकासहित १२ सय ३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको हो ।

निषेधाज्ञालाई कडाई गर्ने नीति अनुसार अनावश्यक सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप देखिएको छ । सवारी चापलाई कम गर्नका लागि चेकचाँजमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि निषेधाज्ञा गरिएको छ ।