सरकारले थाल्यो संघीय र प्रदेशसभा निर्वाचनको तयारी - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

सरकारले थाल्यो संघीय र प्रदेशसभा निर्वाचनको तयारी



सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ। नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ । आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिने सरकारमा रहेका दलका नेताहरूले बताउँदै आएका छन् ।

संघीय चुनावको तयारी

सरकारले संघीय संसद र प्रदेशसभाको निर्वाचनको पनि तयारी थालेको छ । आज घोषणा हुने नीति तथा कार्यक्रममा निर्वाचनसम्बन्धी कुराहरू पनि घोषणा हुने बताइएको छ । संघीय संसद र प्रदेशसभाको निर्वाचन पनि यसैवर्ष गर्नुपर्ने कार्यसूची छ ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन लागेको सन्दर्भमा निर्वाचनलाई समेत केन्द्रमा राख्नुपर्ने आवश्यकता छ । नीति तथा कार्यक्रममा संघ र प्रदेशको निर्वाचनलाई पनि प्राथिमकतामा राख्ने तयारी छ ।