निर्वाचन आयोगबाट पनि मिलन पाण्डेले न्याय पाएनन् - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

निर्वाचन आयोगबाट पनि मिलन पाण्डेले न्याय पाएनन्



काठमाडौँ- विवेकशील साझा पार्टीका तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी निर्वाचन आयोगले खारेज गरिदिएको छ। निर्वाचन आयोगमा निर्णय पुनरावलोकन गर्न पाण्डेले माग गरेका थिए ।

विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले पुनरावलोकनको लागि उजुरी दिएकोमा आयोगको पुस १२ गते बसेको बैठकले पाण्डेको विपक्षमा निर्णय गरेको हो।

पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको जस्ता आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए।

आयोगले आफ्नो सो निर्णय नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र विवेकशील साझा पार्टीको साबिकको विधान २०७४ को पहिलो संशोधन बमोजिम नै रहेको ठहर गरी पाण्डेको निवेदनमा थप कारबाही आवश्यक नरहेको भन्दै खारेज गरिदिएको हो।

आयोगले पाण्डेलाई सो निर्णयको जानकारी दिइसकेको छ।

पटक पटक सचेत गराउँदा पनि आफ्नो पदीय जिम्मेवारीको प्रतिकुल पार्टी हित विपरीतका समानान्तर गतिविधि गरेको, पार्टी बैठकमा लगातार अनुपस्थित रहेको, पार्टी र नेतृत्वबारे आधारहीन आरोपसहित प्रचारबाजी गरेको भन्दै विवेकशील साझा पार्टीले तत्कालीन संयोजक पाण्डेसँग स्पष्टीकरण माग गरेको थियो।

तोकिएको समयभन्दा ढिलो बुझाएको स्पष्टीकरणमा चित्तबुझ्दो आधार पेस नगरेको र उल्टै स्पष्टीकरणमा समेत पार्टीका सहकर्मी नेतृत्वमाथि आधारहीन आरोप लगाएको ठहरसहित पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनको कारबाही सर्वसम्मत रूपमा गरेको थियो।