निर्वाचन विरोधी गतिविधि भए गोली ठोक्ने: प्रजिअ - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

निर्वाचन विरोधी गतिविधि भए गोली ठोक्ने: प्रजिअ



कमल बिष्ट/अर्घाखाँची 

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताउँदै निर्वाचनलाई असर पार्ने गतिविधि गरेर स्थिति गम्भीर बनाउन खोज्ने जो कोहीलाई सुरक्षा कर्मिले गोली ठोक्न पाउने अधिकार कानुनमा उल्लेख रहेको बताउनु भएको छ ।

रिपोटर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सुरक्षा संवेदनशिलता रहेका क्षेत्रमा थप सुरक्षाबल परिचालन गरिएको हुँदा ढुक्क भएर मतदान कार्यमा सहभागी हुन मतदातालाइ आग्रह समेत गर्नुभएको छ ।निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन जिल्लाभर म्यादी,जनपथ,सशस्त्र प्रहरी र नेपाली सेना लगायतका पर्याप्त सुरक्षाकर्मिको परिचालन गरिएको बताउनुभयो । साथै सुरक्षा चुनौती तपिएको खन्डमा थप सुरक्षा आवश्यक भएमा पन्ध्र मिनटमै सम्बन्धित क्षेत्रमा आवश्यक थप सुरक्षाबल पुग्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले फर्जि मत राख्ने र बुथ क्याप्चर हुने कुनै सम्भावना नरहेकोले निश्पक्ष निर्वाचन हुनेमा कसैले शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

सबै मतदान स्थलहरुमा मतदान सामाग्री र कर्मचारी पुगीसकेकोले आजैबाट मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने समेत उहाँले जानकारी दिनुभयो ।

एकलाख अड्तीस हजार तीनसय अट्ठाइस जम्मा मतदाता रहेको अर्घाखाँची जिल्लामा ९३ मतदान स्थल,१७४ मतदान केन्द्र कायम गरिएको छ । यस जिल्लामा प्रतिनिधि सभाको लागी एक र प्रदेशसभाको लागी दुईवटा क्षेत्र रहेका छन् ।