राप्रपाले विधान नसच्याए निर्वाचन आयोगले कडा कदम चाल्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राप्रपाले विधान नसच्याए निर्वाचन आयोगले कडा कदम चाल्ने



काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विधानका केही अंशहरू नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ ।

आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ४ मा सनातन हिन्दू एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भनेकोले सो कुरा अहिलेको प्रचलित विधानले स्वीकार गर्न नदिने भन्दै त्यसलाई हटाउन अनुरोध गरेको बताए ।

उनले आयोगले २०७७ साल माघ ७ गते नेपालको राष्ट्रिय झण्डा, निसान छाप, राष्ट्रिय फूल, रङ, राष्ट्रिय पंक्षी, राष्ट्रिय जनावर, नेपालको नक्शा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वहरूका तस्वीर जस्ता कुराहरूलाई राजनीतिक दललाई चिह्नको रुपमा प्रयोग गर्न नदिने निर्णय गरेको तर राप्रपाले पेश गरेको झण्डामा पनि मध्य भागमा गाईको चिह्न रहने उल्लेख भएकोले यी दुई कुराहरू सात दिनभित्र सच्याएर निर्वाचन आयोगमा बोलाइएको बताए ।

‘पहिला दिइएको भए पनि त्यसको पुनरावलोकन गर्ने भन्ने आयोगको निर्णय छ । त्यही निर्णयलाई कार्यान्वयन गर्नको लागि उहाँहरूले अहिले पेश गरेको झण्डामा पनि झण्डाको मध्य भागमा गाईको चिन्ह रहनेछ भनेर लेखिएको छ, त्यो नराख्नको लागि उहाँहरूलाई पत्राचार गरिएको हो,’ उनले भने, ‘आशा छ आउला र तदनुरुपको परिवर्तन हुन्छ । सामान्यतया आयोगले दिएको विधिसम्मत् निर्देशनलाई राजनीतिक दलहरुले कार्यान्वयन गर्नुहुन्छ नै भन्ने मान्यता हो । यदी त्यस्तो भएन भने यही कुरो आयोगमा पेश गर्दछौँ । त्यसपछि आयोगले उपयुक्त निर्णय गर्छ, दल नै खारेज हुनसक्ने अवस्था पनि आउन सक्छ ।’

राप्रपाले भने निर्वाचन आायोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने निष्कर्ष निकालेको छ ।