निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराईका बाढी पीडितलाई २५ हजार दिने तयारी - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराईका बाढी पीडितलाई २५ हजार दिने तयारी



मंसिर ११,काठमाडौं ।। निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराई मधेसका बाढी प्रभावितलाई राहत र न्यानो कपडा किन्न २५ हजार रुपैयाँ दिने तयारी थालेको छ ।

बाढीबाट प्रभावित सबै पीडितलाई राहत स्वरुप १५ हजार र न्यानो कपडा किन्न १० गरी २५ हजार रुपैयाँ दिने तयारी अघि बढाएको प्राधिकरणले जनाएको छ । बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न कार्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने गरी बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरेको थियो ।

आयोजनाले बाढी तथा डुबानबाट पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरपरिवारलाई राहत वितरण गर्ने तयारी थालेको हो । बाढी प्रभावितलाई राहत र न्यानो कपडा किन्नका लागि सहयोग उपलब्ध गराउनु सकरात्मक भएपनि मतदाता प्रभावित पार्ने गरेर चुनावको मुखैमा सरकारले सहयोग दिने तयारी थाल्नु आचार संहिता विपरित हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् अनुदानको वितरण सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले गर्नेछन् । यो वर्षको बाढीबाट अति प्रभावित १८ जिल्लाका १ सय ३४ को ज्यान गएको थियो । बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ हुने राष्ट्रिय योजना आयोगद्धारा तयार बाढीपछिको पुनस्र्थापना आवश्यकता आंकलन प्रतिवेदनमा अनुमान गरिएको छ ।
आयोगका अनुसार बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको थियो ।