निरु पालको पेस्तोलकाण्ड झुटो नै हो त ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निरु पालको पेस्तोलकाण्ड झुटो नै हो त ?



नेकपाकी साँसद् निरु पालमाथि संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय समितिबाट अस्वीकृत भएका दीपकराज जोशीको सुनुवाइका लागि बस्ने बैठकमा नजान धम्की दिँदै बानेश्वरमा पेस्तोल ताकिएको भन्ने विषयले खुबै चर्चा पायो ।

पाल स्वयंले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई टेलिफोन गरी आफूमाथि अज्ञात व्यक्तिले सुनुवाइमा गए मारिदिने धम्की दिँदै बानेश्वरमा पेस्तोल ताकेको जानकारी दिइन् । सत्तारुढ पार्टीकी सांसदमाथि दिनदहाडै गोली ताकिएको भन्ने विषयलाई प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीर रुपमा लिए । समाचारको हाइलाइट पात्र बनिन्, सांसद् पाल । घटनालगत्तै सरकारले संसदीय सुनुवाई विशेष समितिका ६ सदस्यको सुरक्षामा सुरक्षाकर्मी खटायो । पालसहित सत्ता पक्षका केही सांसदले उक्त विषयलाई लिएर संसदबैठक समेत तताए ।

‘माथिको आदशेमा’ प्रहरीले बानेश्वरमा सडकमा हिंडिरहेका ९० जनालाई पक्राउ पनि ग¥यो । उक्त घटनाबारे महानगरीय प्रहरी परिसर काठमाण्डु र महानगरीय अपराध महाशाखाले एकैसाथ घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीको ठाडो निर्देशनमा एसपी रामदत्त जोशीको नेतृत्वमा टोली परिचालित छ । तर, अहिलेसम्म सांसदमाथि पेस्तोल ताकिएको घटनाबारे प्रहरीले केही सुइँको पाउन सकेको छैन । बरु उल्टै प्रहरीले उक्त घटना भएको हो कि होइन भन्नेमै शंका गर्न थालेको छ ।

‘बानेश्वरजस्तो व्यस्त स्थानमा दिउँसै माननीयमाथि पेस्तोल ताकिएको घटना देख्ने प्रत्यक्षदर्शी कोही नहुनु र पेस्तोल ताक्नेले मुखमा माक्स समेत नलगाएको भन्दै माननीयज्यूकै भनाइले घटना सत्य हो कि दाबी मात्रै हो भन्नेमा शंका उत्पन्न भएको छ’, प्रहरीका एक उच्च अधिकारीले भने ।