चर्को विरोध भएपछि तीन जिल्लाका सिडिओले आफैले गरेको निर्णय फिर्ता लिए
काठमाडौँ । जनतालाई ब्यापक सास्ती भएको भन्दै चर्को विरोध र आलोचना भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफैले गरेको निर्णय एक सातामै फिर्ता लिएका छन् ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली निर्णय गरेको एकसातामै हटाएका छन् ।
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पछिल्लो परिस्थितिको मूल्यांकन गर्दै सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको बताए ।
यसअघि जारी आदेशका अन्य प्रावधानहरुलाई भने निरन्तरता दिइएको छ ।