म कृतज्ञ छु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

म कृतज्ञ छु



—निर्मोही व्यास

यो २०७६ सालको वैशाख महिना हो । अहिले म कलैयामा नभएर काठमाडौँमा छु र मेरो जीवनधारा बेग्लै गतिले बग्दै छ । आफ्नो प्यारो अतीततर्फ फर्कँदै छु म आज । ठ्याक्कै चौबीस वर्ष पुरानो प्रसङ्ग तर कहिल्यै कहिल्यै बासी नहुने । जुनीजुनी अविस्मरणीय । त्यसताका म काठमाडौँ भोटाहिटीको ललितकला क्याम्पसमा पढाउथेँ ।

फुकिढले जिउ भएकी जीर्णरोगी श्रीमती कल्पनालाई लिएर घरबाट बारम्बार काठमाडौँका अस्पतालहरूमा धाउँदै कहिले कुन त कहिले कुन आफन्तहरूकहाँ साता–साता दिनसम्म पाहुना लागी उनीहरूलाई बारम्बार पिरोल्दै आएको थिएँ त्यसअघिसम्म । त्यसरी लाजै पचाएर आफन्तहरूकहाँ भतुवा लागी बेलाबेलामा ‘बिरालाले बच्चा सारेको’ भनिने पाराले आफन्तहरूका घर/डेरा फेर्दै अस्पताल धाएर नियमित र लामो उपचार सम्भव नहुने देखी उपचारको स्थायी व्यवस्थाको लागि नै घरपाइक पर्ने ठाकुरराम क्याम्पस, वीरगन्जबाट सरुवा मिलाएर ललितकलामा आएको थिएँ २०५२ साल जेठको अन्तिम सातामा । डेरा थियो पुतलीसडककै भित्रपट्टिको एउटा घरमा । कल्पनाको उपचारका लागि महिनौँदेखि घरी त्रि.वि. शिक्षण अस्पताल, घरी वीर अस्पताल, त घरी ओम् नर्सिङ होम र हिमाल नर्सिङ होममा धाउँदै थिएँ । पछिल्लोपल्ट परेको थिएँ ओम नर्सिङ होमको शरणमा। त्यसताका त्यो थियो प्रज्ञा प्रतिष्ठानको उत्तरपट्टि, होटेल मार्कोपोलोको छेउछाउमा।

कल्पनालाई हृदयरोगले गाँजेको थियो दुई दशकअघिदेखि । मसित बिहाहुनुभन्दा पहिले नै अर्थात् किशोरावस्थादेखि नै त्यस रोगकी जीर्णरोगी रहिछन् उनी । मेडिकल भाषामा (माइट्रल स्टेनोसिस्) थियो उनको रोगको नाउँ । मुटुका दुइवटा भल्भ खुम्चँदै खुम्चँदै गएका थिए । भल्भको मुखको डायोमीटर आफ्नो नर्मल पोजिसन साढे तीन सेन्टिमीटरबाट सुक्तै सुक्तै गएर जम्माजम्मी आधा सेन्टिमीटर मात्र बाँकी थियो । पहिले थाहै थिएन मलाई । बिहेको पाँच वर्षपछिसम्म पनि जीउडाल राम्रै थियो । यसै बीचमा हाम्रा तीन सन्तान जन्मे दुई छोरा र एक छोरी । ज्येष्ठता क्रममा छोरा, छोरी अनि फेरि छोरा । कान्छो छोरा छ महिनाको हुँदासम्म भित्रभित्रै दबेर रहेको रोगले अब भने एकैचोटि आफ्नो परिपक्व रूप देखायो । त्यो पनि अनौठोसित । कसरी भने, पहिले टी.बी. भयो । पूरै डेढवर्षसम्म त्यसको उपचार गराएर डाक्टरलाई अन्तिमपल्ट भेट्न जाँदा उनले आवश्यक परीक्षणपछि घोषणा गरे—“ल, बधाई छ उहाँलाई टी.बी. रोग पूरै निर्मूल भएकोमा…” र, त्यो सुनेर ढुक्कको सास फेर्न नपाउँदै लगत्तै उनले आफ्नो त्यो वाक्यलाई पूरा गरे—“तर उहाँलाई मुटुको रोग छ” । अनि भर्खरै पाइएको त्यो बधाईको अर्थ के नै पो रह्यो र ? यसरी हाम्रो पोल्टामा पर्न आउन लागेको त्यो खुसी पोल्टामा पर्नुअघि नै खोसियो । त्यसपछि व्यग्रतापूर्वक पूरै सत्र वर्षसम्म निरन्तर उपचारमा लागिपरियो । क्रमशः कलैया, वीरगन्जका अतिरिक्त काठमाडौँका त्रि.वि.शिक्षण अस्पताल र ओम् अस्पताल (त्यतिबेलाको ‘ओम् नर्सिङ होम’) का साथै भारतका दिल्लीको आल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका साथै पछि पुट्टपर्तीको श्री सत्य साई इन्स्टिच्युट अफ हायर मेडिकल साइन्सेज अस्पतालमा गरी पूरा सत्र वर्षसम्म अटुट रूपमा उपचार भएको थियो ।

अँ त, अब फेरि ०५२ सालतिरै फर्कौँ ।

त्यस ताका ओम् नर्सिङ होममा चल्दै थियो उनको उपचार । उनी कुनैकुनै दिन र रातभरि नै इन्तु न चिन्तु रहन्थिन् । एकदमै निश्चेष्ट । ढुकढुकी समेत हराएजस्तो हुन्थ्यो र धुकधुकी छाम्नुपर्थ्यो । मध्य असार महिना । दर्के झरीको प्रचण्ड वेगले कुनै कुनै दिन अस्पतालबाट राति नौ–दस बजे मात्र फर्कन्थ्यौँ डेरामा । ट्याक्सी कहिले पाइन्थ्यो, कहिले पाइँदैनथ्यो । एक रात त्यस्तै ट्याक्सी नपाइएको हुँदा मैले त्यो झमझम परिरहेको मुसलधारे पानीमा राति दस बजे एक्लै काँधमा बोकेर एक हातले छाता र अर्को हातले उनलाई सम्हाल्दै कसैगरी ल्याइपुर्‍याएको थिएँ डेरामा ।

केही दिनको परीक्षण र उपचारपछि एक दिन त्यहाँका निकै चल्तापुर्जा र आफ्नो विषयका निकै ठूला ज्ञाता र सिद्धहस्त मानिने ‘यु.एन.पाठक’(उग्रनारायण पाठक) नाउँका मैथिलीभाषी एक जना पाको उमेरका डाक्टरले म, रोगी (कल्पना) र हाम्रो जेठो छोरो शरदलाई आफ्नो कोठामा रहेका चार कुर्सीमा आमुनेसामुन्ने बसाएर मलाई भनेका थिए —“के हो मास्टरसाहेब ! तपाईँलाई अर्को बिहा गर्न मन छ कि कसो ”? एकदमै अप्रत्याशित रूपमा एकदमै बेसोमती पाराले गरिएको उनको त्यो प्रश्न सुनेर अत्यन्तै मर्माहत भएको थिएँ म । प्रचण्ड रूपमा रन्थनिएको थियो मेरो ब्रह्माण्ड । तैपनि संयमित हुँदै मैले विनम्र पारामा उनलाई सोधेको थिएँ — “तपाईंले किन यस्तो कुरा गर्नुभएको डाक्टरसाहेब ! म त श्रीमतीलाई एकदमै माया गर्छु । त्यै भएर वर्षौँदेखि उनको उपचारमा कलैया, वीरगन्ज, दिल्ली, काठमाडौँका अस्पताल र तपाईँहरूजस्ता डाक्टरको शरणमा धाएको धायै छु अनि तपाईँले मलाई यस्तो अलच्छिना आक्षेप किन लगाउनु भएको यसरी ?”

र यसको जबाफमा उनले कुटिल हाँसो हाँस्तै त्यहीँ बसीबसी रोगीतिर औँल्याउँदै उनको सामुन्ने नै भनेका थिए — “अनि अर्को बिहा गर्न मन नभएको भए तपाईंले अहिलेसम्म उहाँको मुटुको अप्रेसन किन नगराएको त ? आजको सात दिनभित्र अप्रेसन नगराए उहाँ मर्नुहुन्छ । जानोस्, तीन–चार लाख रुपैयाँको व्यवस्था गरेर तुरुन्तै अप्रेसन गराइहाल्नोस् नत्र पछि मलाई दोष दिन पाउनु हुनेछैन ।”

उफ…! डाक्टर पनि थरीथरीे प्रकृतिका हुँदा रहेछन् । कोही अत्यन्त विवेकवान् र सहयोगी त कोही अविवेकी र दुच्छरपनाका खानी । यतिसम्म दुच्छर बोलीवचन र उद्दण्ड व्यवहार भएको डाक्टरसित मेरो कहिल्यै भेट भएको थिएन । तर त्यो चाहिँ अस्पतालमा ती चाहिँ डाक्टरबाट केही महिनैदेखि अत्यन्तै नमीठो अनुभव सँगाल्दै आएका थियौँ हामी । अहिलेको उनको बोली–व्यवहार एकदमै मगज रन्थन्याउने खालको थियो ।

उनको त्यो मर्मभेदी शैलीको कहालीलाग्दो कुरा सुनेर कल्पनाले क्वाँ…क्वाँ…डाँको छोडेकी थिइन् र हामी निरीह बाबुछोरा भक्कानिनसम्म भक्कानिएका थियौँ । एक त रोगको त्यो विकराल रूप थाहा पाएर र अर्को मुटुरोगको विशेषज्ञ डाक्टर मानिने त्यस बुद्धि–विवेक र कमनसेन्स शून्य प्राणीद्वारा रोगीको सामुन्ने नै ओकलिएको त्यस्तो दुच्छर कुराको सुइरोले मन, मगज र मुटु छियाछिया भएर । उफ…! एक साताभित्रै कहाँबाट ल्याउने तीन–चार लाख रुपैयाँ र जोगाउने रोगीको ज्यान !

परिवारमा कमाउने व्यक्ति म एक्लै थिएँ । छोराछोरी सानै थिए । बेच्नलाई नौ धुर जग्गामा बनेको दुई कोठे र अझ त्यो पनि निर्माणाधीन अवस्थामै बसोबास गरिरहेको घरबाहेक अरू केही थिएन । र, त्यो पनि सगोलमै रहेको् र बाबाको नाउँमा रहेको जग्गामै बनाइएको थियो । अंशबन्डा भएकै थिएन । त्रि.वि.सेवाको जागिर स्थायी भएको पाँच वर्ष नपुगेकोले नियमानुसार ऋण पाउनका निम्ति योग्य नभएर प्रयास असफल भइसकेको थियो । आफन्त र नातागोताहरू बग्रेल्ती भए पनि कतै कसैबाट एक रुपैयाँको पनि आस गर्नु मूर्खता मात्रै थियो । यसरी कल्पनाको जीवनरक्षाको सन्दर्भमा सर्वथा निरुपाय भएकाले अर्धविक्षिप्त जस्ता भयौँ हामी । घरमूलीको नाताले मेरो मनोदशा झन् के भयो होला सहजै अनुमान गर्न सकिन्छ ।

भारतीय राजदूतावास मार्फत दिल्ली स्थित ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ अस्पतालमै पनि निशुल्क अपरेसनको सुविधा जुटाउने आशाले आदरणीय अग्रज गङ्गाप्रसाद उप्रेती दूतावासका पदाधिकारीहरूसित कुराकानी मिलाउन कम्ती लागिपर्नु भएको थिएन तर त्यो कसैगरी पनि सम्भव भएन ।

पुतलीसडकमा मेरो डेरा मञ्जुल दाइको डेराको छेउछाउमै थियो । हामी दुवै एक–अर्काकोमा बेलाबेला आउजाउ गरिरहन्थ्यौँ । ओम् अस्पतालका ती नामी तर बेसोमती डाक्टरको त्यस्तो दुच्छर वचनपछि मैले आफ्नो जीवनका आगामी जुनसुकै क्षणलाई आफ्नो विधुरजीवनको आरम्भक्षणको रूपमा लिन र आफ्ना छोराहरूलाई किरियापुत्रीको भेषमा देख्न थालिसकेको थिएँ । मेरा आँखाभरि यस्तै क्रुर कल्पना–चित्र छाइरहन्थ्यो । मन–मुटु र मगज छियाछिया भएर र कलेजा कोक्किएर आउँथ्यो । प्रतिपल छाती भक्कानिएर क्वाँ…क्वाँ… डाँको छुट्थ्यो । आँखाहरू आँसुको महासागरमा अनुवाद भएका थिए । त्यसमाथि झन् मेरा कतिपय रक्तसम्बन्धीका साथै म र मेरो परिवारसित लामो निकट सान्निध्य भएका पहिले पहिले भेटैपिच्छे हामीप्रति आदर र आत्मीयताको चरम अभिव्यक्ति प्रकट गर्ने कलैया र काठमाडौँका अन्य कतिपय साहित्यिक व्यक्तित्वहरू अहिले ‘बाफ रे यो बुङ्गाले केही मागि पो हाल्छ कि ?’ भनेर सशङ्कित हुँदै एकेक गरी टकटकिन र टाढिन थालेका थिए । अनि तीमध्येकै कतिपय चाहिँ निर्लज्जतापूर्वक उल्टै ‘मौका यही हो’ भनेझैं गरी फोस्रो आदर्शका लामालामा पाठ पढाउँदै, उपहास गर्दैै र मेरो स्वाभिमानमा वज्रलात हान्दै पीडामाथि झन्झन् महापीडा थप्तै थिए ।

त्यस्तैमा एक दिन एउटा शक्तिशाली राजनैतिक दलका चल्तापुर्जा कार्यकर्ताले मलाई भेटेर भने—“व्यास सर ! तपाईँ अहिले उपचार खर्च नभएर श्रीमतीको मुटुको अपरेसन गराउन नसकी छट्पटाइराख्नु भएको कुरा हामीलाई थाहा छ । अहिले हाम्रो पार्टी नै सत्तामा छ र अल्पमतकै भए पनि एकमना सरकार छ । मैले माथिल्लो तहका आफ्ना साथीहरूसित तपाईँका बारेमा कुरा गरेँ । र उहाँहरू पनि तपाईँलाई आर्थिक सहयोग गर्न राजी भइसक्नुभएको छ । तर, त्यसका निमित्त एउटा शर्त छ । त्यो के भने तपाईंले विधिवत् रूपमा हाम्रो पार्टीको सदस्यता लिनुपर्छ । त्यसो गर्नुभयो भने तपाईँले श्रीमतीको अपरेसन खर्चका लागि पटक्कै पिरोलिनु पर्दैन । सर, खुरुक्क सदस्यता लिएर यो सुअवसरको लाभ उठाउनोस् ।” आफ्ना परिचित व्यक्तिको यस्तो अप्रत्याशित प्रस्तावले मलाई एकदमै रन्थन्यायो । त्यस संवादको प्रत्युत्तरमा मैले उनलाई भनेँ— “सद्भावका निम्ति हार्दिक धन्यवाद मित्र ! तर, क्षमा गर्नोस् मेरो आफ्नै मान्यता छ । मैले अहिलेसम्म कुनै पनि राजनैतिक दलको सदस्यता लिएको छैन र लिनेबारे कहिल्यै सोचेकोसम्म पनि छैन । संवेदनशील भएर मानवीय नाताले विनाशर्त सहयोग गर्नुहुन्छ भने म सहर्ष स्वीकार गर्छु तर, जेजस्तो परे पनि श्रीमतीको उपचारका लागि भनेर कुनै राजनैतिक दलको सदस्यता नै लिने काम चाहिँ मबाट कसैगरी पनि सम्भव छैन । मेरी श्रीमतीका बाबुआमाले “पाले पुण्य, मारे पाप” भनी उनलाई मसित अन्माएर पठाएका हुन् । उनी मेरी पत्नी हुन्, अर्धाङ्गिनी हुन, गृहलक्ष्मी हुन् र मेरा तीन–तीन जना सन्तानकी आमा हुन् । त्यसैले उनको जीवनरक्षाको सम्पूर्ण जिम्मेवारी मेरो हो । के कसरी सम्भव हुन्छ, त्यो सम्पूर्ण उपाय गरेर उनको उपचारको व्यवस्थामा म आफ्नै प्रकारले जुटेको छु, जुट्छु । तर, तपाईँको यो शर्त म ज्यान गए पनि स्वीकार गर्दिन । परिणाम जे त होला ।”

उनले अझै थपे— “सर ! मैले त तपाईँको भलोको लागि नै भनेको हुँ । मान्नु नमान्नु तपाईँको खुसीको कुरा हो । म अहिले सिन्धुपाल्चोक जाँदै छु । सात दिनपछि काठमाडौँ फर्कन्छु र तपाईँलाई फेरि भेट्न आउँछु । यो एकसाताको अवधिमा तपाईँ यसबारे आफ्नो ठोस धारणा बनाइराख्नुहोला ।” मैले भनेँ— “मित्र ! यस सन्दर्भमा मेरो अन्तिम धारणा यही नै हो । यसका निमित्त तपाईँले सात दिन त के सात वर्षकै म्याद दिए पनि मेरो यस निर्णयमा पटक्कै परिवर्तन आउने छैन ।” त्यो सुनेर ती मित्र निकै खल्लो मानेझैं गरी “लौ त उसो भए !” भन्दै बाटो लागेका थिए ।

तिनै धमिला दिनहरूमध्येको कुनै एक दिन बिहानै मञ्जुलदाइले “व्यासभाइ ! तपाईँ चिन्ता नगर्नोस्, मेरा एक जना मित्रले आफ्नी मुटुकी रोगी छोरीलाई साइबाबाको अस्पताल पुट्टपर्तीमा लगी निशुल्क उपचारपछि स्वस्थ पारेर ल्याउनुभएको छ, हिँड्नोस् म तपाईँलाई उहाँसित भेट गराउँछु । उहाँले तपाईँलाई आफ्नो अनुभव सुनाएर सजिलोको लागि त्यहाँको उपचारको प्रक्रिया र जाने रुट पनि बताउनुहुनेछ । कल्पना बैनीलाई उतै लैजाउँला । अनि त बैनीले रोगबाट मुक्ति पाइहाल्नुहुन्छ नि ।” भनेर सान्त्वना दिँदै टेम्पोमा चढाएर मलाई कुपन्डोल हुँदै खै कता पो हो लैजानुभएको थियो । मेरा आँखा डम्म आँसुले भरिएकाले र मन–मुटुभरि महाभूकम्प मच्चिरहेकाले बाटो र परिवेशको भेउ पाइरहेकै थिइन ।

आज बीस वर्षपछि पनि मेरो स्मृतिमा त्यसको स्पष्ट चित्र आउन सकेको छैन । दाइले आफ्ना सम्बन्धित मित्रको निवासमा लगेर भेट गराई अस्पताल, त्यसका नियमहरूका बारेमा र पुट्टपर्ती जाने रेलको रुटका बारेमा समेत आवश्यक जानकारी उपलब्ध गराउनुभएको थियो मलाई । अनि उताबाट डेरामा फर्कनासाथ आवश्यक बाटोखर्च जुटाउन आर्थिक सहयोग बटुल्ने अभियान थाल्नुभएको थियो उहाँले । त्यस अभियानमा दिल खोलेर जुट्नुभएको थियो धेरै धेरै अग्रज र मित्रहरू । जसमध्ये प्रमुख भूमिकामा हुनुहुन्थ्यो मित्रवर राजव,रमेश भट्टराई र सुधा त्रिपाठी । चाबेलमा डेरा गरी बसेका राजवजी कहिलेकाहीँ राति दुई बजे पनि आइपुग्नुहुन्थ्यो दिनभरि उठाउन सकेजति दुई–चार हजार, रुपियाँ लिएर । र, भन्नुहुन्थ्यो — “मित्र, यसरी पचास हजारजति उठेपछि तपाईँ भाउजूलाई लिएर पुट्टपर्ती गई उपचार थाल्दै गर्नुहोला । यता अरू आवश्यक रकम लिएर म आउँला । त्यस्तै, घट्टेकुलोमा डेरा गरी बसेका सुधा– रमेशदम्पती सधैँजसो भेट्न आउनुहुन्थ्यो । र सुधाजी भन्नुहुन्थ्यो —“व्यासजी, नरुनोस्, खर्च नपुगेर भाउजूको उपचार रोकिन पाउने छैन । हामीसित केही सुन छ । हामी त्यो सबै बेचिदिन्छौँ । काठमाडौँमा हाम्रो एउटा घडेरी छ, आवश्यकता परे त्यो पनि बेचिदिउँला । भाउजूको जीवनरक्षाको लागि गर्न सक्ने जति सबै आर्थिक उपाय गरौँला । तपाईँ चिन्ता नगरीकन उपचारमा लाग्नोस् ।” अनि उसैगरी प्रा.घनश्याम कँडेलज्यू त्रि.वि. कीर्तिपुरको आफ्नो मित्रमण्डलीबाट मेरा निमित्त सहयोग जुटाउन मरिमेटेर लागिपर्नुभएको थियो । आहा ! मेरो लागि यी मित्रहरूका वाणी देववाणी र वेदवाणी थिए ।

एक दिन दिउँसो म क्याम्पसबाट सोझै गएको थिएँ मञ्जुलदाइको डेरामा । उहाँले बैठककोठामा लगेर बसाउनुभयो । साडीेमा सज्जित एउटी गोरी भद्र महिला त्यहाँ पहिलेदेखि एक्लै बसिराख्नुभएको रहेछ । मञ्जुलदाइले क्रमशः “उहाँ भाइ ‘निर्मोही व्यास’, र उहाँ चाहिँ बैनी ‘सुलोचना मानन्धर” भनी हाम्रो दोहोरो परिचय गराएर मेरो परिस्थितिबारे समेत बताउँदै ‘ल, भाइ ! बहिनी ! तपाईँहरू कुरा गर्दै गर्नोस्, म एकछिनमा आइहाल्छु है’ भन्दै पल्लो कोठामा रहेका अरू कुनै विदेशी मित्रसित कुरा गर्न जानुभयो । हामी सुष्मिता बहिनीले ल्याएको चिया खाँदै कुरा गर्न थाल्यौँ ।

सुलोचनाजी स्वयं पनि राम्रो स्रष्टा हुनुहुँदो रहेछ र त्यसताका विश्वभाषा क्याम्पसमा नेपाली विद्यार्थीलाई चिनियाँ भाषा र चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउनुहुँदो रहेछ । एकछिनको कुराकानीपछि उहाँले द्रवित हुँदै आफ्नो पर्सबाट रु. एक हजारको नोट झिकेर केही सङ्कोचका साथ मतिर बढाउँदै भन्नुभयो— “मित्र, मलाई एकदमै नरमाइलो लाग्यो तपाईँको श्रीमतीको अवस्था र तपाईँको विवशता थाहा पाएर । त्यसैले, आफ्नो तर्फबाट यति सहयोग गर्न खोजेँ । कृपया अन्यथा नमानी स्वीकार गर्नोस् है !” अनि थप्नुभयो—“मेरा श्रीमानजी पनि डाक्टर हुनुहुन्छ । उहाँको नाउँ ‘सरोज धिताल’ हो र उहाँ सर्जन हो । बागबजारमा हाम्रो अस्पताल छ ‘काठमाडौँ मोडेल अस्पताल’ । म तपाईँलाई अहिल्यै त्यहाँ लगेर उहाँसित भेट र परिचय गराउँछु । उहाँले दिएको सल्लाहाले पनि यहाँलाई भाउजूको उपचारमा केही सहयोग पुग्छ होला कि !” र त्यसपछि लगत्तै हामी त्यहाँबाट बिदा भएर बागबजारको मोडेल अस्पतालमा गयौँ ।

मोडेल अस्पताल बागबजारमा अहिलेको ठाउँमा नभएर रत्नपार्कबाट डिल्लीबजार जाने मूलसडकमा रत्नपार्कदेखि केही पूर्व र पद्म कन्या क्याम्पसदेखि अलि पश्चिमपट्टि बाटोको उत्तरतिरको एउटा पुरानो भवनमा सञ्चालित थियो । त्यहाँ पुगेपछि अफिस कोठाको बार्दलीमा बसेका ठिक्कको कद, आकर्षक जिउडाल, हँसिलो र तेजिलो अनुहार अनि सरल, विनम्र र शालीन स्वभाव अनि प्रभावशाली व्यक्तित्वका धनी डाक्टरसाहेबसित मेरो परिचय गराउनुभयो सुलोचनाले । बडो हार्दिकता प्रकट गर्नुभयो डाक्टरसाहेबले पनि । उहाँसँगै अर्का एक जना युवक पनि हुनुहुन्थ्यो उस्तै शालीन । डाक्टर सरोजले उहाँको परिचय दिनुभयो —“उहाँ हृदयरोगका विशेषज्ञ सर्जन डाक्टर भगवान कोइराला” भनेर । मुटु–रोगीहरूका निम्ति आज साक्षात् भगवान मानिएका भगवान कोइरालाजी त्यसताका उदीयमान प्रतिभा हुनुहुँदो रहेछ ।

हामी चार जनाले त्यहाँ बसेर आत्मीय भावले निकै बेर कुरा गर्‍यौं । दुवै डाक्टरसाहेबहरूले वर्षौंको अन्तरालपछि भेटिएको आफ्नो कुनै पुरानो आत्मीय मित्रसित जस्तो बोली–व्यवहार गरेर मेरो मन जित्नुभयो । मेरी श्रीमती मुटुकी दुःसाध्य र जीर्ण रोगी भएकीले डाक्टर सरोज र डाक्टर भगवान कोइरालाले आपसमा निकै बेर छलफल गरेर मलाई समुचित सल्लाह दिनुभयो । त्यसताका नेपालमा आजजस्तो हृदयरोगको सर्वसुलभ उपचार सेवा उपलब्ध थिएन । त्यसैले उहाँहरूबाट प्राप्त सल्लाह–सुझाउअनुसार पनि मैले श्रीमतीलाई पुट्टपर्तीको ‘श्री सत्य साई इन्स्टिच्युट अफ हायर मेडिकल साइन्सेज’ नै पुर्‍याएँ ।

यसरी माथि उल्लेख गरिएका मेरा हार्दिक मित्रहरूका साथै श्यामप्रसाद, जनक हुमागाईं, आनन्ददेव भट्ट, अच्युतरमण अधिकारी, गङ्गाप्रसाद उप्रेती, मञ्जुलदाइ लगायतका आदरणीय अग्रज तथा नरेन्द्र बहादुर श्रेष्ठ, नारायण ढकाल, शार्दूल भट्टराई, देविका तिमल्सेना, अविनाश श्रेष्ठ कपिल घिमिरे, श्रीओम् श्रेष्ठ, फणीन्द्र नेपाल, सीताराम उप्रेती, बलराम बन्जारा, भीष्म उप्रेती, रामचन्द्र खनाल आदि मित्रहरूबाट पाइएको अनि केही मित्रहरूकै तत्परतामा प्रज्ञा प्रतिष्ठान,गोरखापत्र संस्थान एवं नेपाली साहित्य गुठीबाट जुटाइएको सहयोगराशि रु.पैँतीस हजार र आफुले अन्तअन्तबाट ऋण लिएको पन्ध्र हजार समेत गरी रु.पचास हजार जम्मा भएपछि ममा रोगीलाई त्यति टाढाको अस्पतालमा लैजान अलि साहसको सञ्चार भएको थियो । तर, त्यसका साथै त्यसरी मित्रहरूले मेरो मर्मान्तक परिस्थितिप्रति टिठिँदै चन्दा स्वरूप वैयक्तिक रूपले बढीमा एक हजार र घटीमा पाँच सय गरी स्नेहपूर्वक गरेको सहयोग निरीहभावले स्वीकार गर्नुपर्दाको अपार सङ्कोच र ग्लानिले चाहिँ म भित्रभित्रै मरेतुल्य भएको थिएँ ।

मेरो स्वाभिमानी हृदयले मसित घनघोर विद्रोह गरेको थियो । र, मैले उहाँहरूसित विनम्रतापूर्वक भनेको थिएँ — “मित्रहरू ! म अहिले दारुण अवस्थामा छु र नितान्त निरुपाय छु । यस्तो बेलामा यहाँहरूले हार्दिक विशालताको परिचय दिएर मप्रति लगाउनुभएको गुनको रिन त जुनीजुनीसम्म पनि तिरेर तिर्न सकिने कुरै होइन । तर मेरो पनि एउटा विनम्र अनुरोध सुनिदिनोस् । मेरो आजको अवस्था भोलि पक्कै रहने छैन, त्यसैले म यहाँहरूबाट प्राप्त यो राशिलाई ऋणको रूपमा नै स्वीकार गर्न चाहन्छु । परिस्थिति अनुकूल हुनासाथ म क्रमशः तिर्दै जानेछु । मेरो हृदयलाई बुझिदिनुहोस् र यो प्रस्तावलाई कृपया अन्यथा नमानिदिनुहोस् ।” तर, जबाफमा मित्रहरूले चित्त दुखाउँदै भन्नुभयो — “तपाईँले यो के भनेको व्यासजी ! हामीले यौटा हार्दिक मित्रलाई आपत् परेको बेलामा आ–आफ्नो तर्फबाट जो सकेको सहयोग गरेको हो । र, यस्तो तपाईँलाई मात्र गरेको पनि होइन । अघिअघि पनि अरू कति जना मित्रलाई गरिसकिएको हो । जीवनमा कहिले कतिखेर कसलाई के कस्तो आपत् आइलाग्ने हो, को जान्दछ र ? आज तपाईँलाई परेको छ, भोलि हामीमध्येकै अरू कसैलाई पनि त पर्न सक्छ । त्यसैले बरु तपाईँ अन्यथा नमान्नोस् र यसलाई ऋणको रूपमा नभएर हार्दिक सहयोगकै रूपमा स्वीकार गर्नोस् । भोलि अरू कसैलााई त्यस्तो परेको खण्डमा उदार हृदयले उसलाई आफ्नो तर्फबाट यसै गरी सक्दो सहयोग गर्न नबिर्सनुहोला । मित्रहरूका बीच हुनुपर्ने, गर्नुपर्ने कुरा त यस्तो पो हो त ।” त्यसपछि वाणीहीन भएँ म ।

भोलिपल्टै घर कलैया गई आदरणीय दाजु डा.केशवप्रसाद उपाध्याय, उहाँकी धर्मपत्नी गोमादिदी र कान्छो भााइ गौतम उपाध्यायको आडिलो साथ पाई उहाँहरूसँगै कल्पनालाई लिएर गएँ पुट्टपर्ती साइबाबाको अस्पतालमा । यो कुरा थियो २०५२ साल असारको ।

उपचार थालेर अप्रेसनको लागि लाइनमा बसाइयो उनलाई । “लाइन लम्बी है, इसलिए अपरेसनकी बारी आने मेँ दो साल भी लग सकता है” भन्ने जानकारीसहित । बाफ रे ! ‘सात दिनभित्र अप्रेसन नगराए मर्ने’ भनेर ओम् अस्पतालका वरिष्ठ डाक्टरद्वारा किटान गरिएकी रोगीको अप्रेसनको पालो यहाँ दुई वर्षपछि बल्ल आउने कुरा सुनेर ब्रह्माण्ड खज्मजियो हाम्रो । ओम् अस्पतालको ती दुच्छर डाक्टरको घोषणा सुनाउँदै‘साइबाल’ नाउँका सम्बन्धित डाक्टरसित बिन्ती बिसाएँ मैले “डाक्टर साहब ! हम तो नेपाल से बहुत बेताव होकर आप की शरण में आए हैँ । अपरेसन की बारी के लिए दी गई ये दो साल की अवधि तो बहुत लम्बी हुई न ! तबतक रोगी जी तो पाएंगी ?” उनले पूर्ण आत्मविश्वासका साथ शान्तभावमा भने— “हाँ जी, बिलकुल जीएंगी, आप निश्चिन्त रहिए । इनकी अवस्था अगर वैसी ही होती तो हम इमरजेन्सी में एडमिट करके कल–परसोँ ही अपरेसन कर देते ।”

यसरी सान्त्वना, आश्वासन र औषधि बोकेर सत्रौँ दिन घर फक्र्यौँ हामी । तर विश्वासै लागेन अस्पतालले अप्रेसनको लागि बोलाउला भनेर । तैपनि धैर्य र विश्वासबाहेकअर्को उपाय पनि के नै थियो र ! त्यसैले झिनो भए पनि आशा सँगालेर अङ्ग्रेजी भाषा–साहित्यका मूर्धन्य विद्वान् एवं नेपाली साहित्यका स्वनामधन्य साधक श्रद्धेय तारानाथ शर्मादाजुलाई अनुरोध गरेर उनै ‘डाक्टर साइबाल’ का नाउँमा अङ्ग्रेजीमा बिन्तीको शैलीमा चिठी लेखाई पठायौँ । र, सुखद आश्चर्य ! उताबाट केही दिनपछि नै हवाई पत्रमा कलमले दुवैतर्फ मसिना अक्षरमा अत्यन्त वात्सल्यपूर्ण शब्दावलीमा लेखिएको जबाफ आयो डाक्टर साइबालको । आशय थियो— नानी, तिमी पटक्कै चिन्ता नगर । भगवानमा विश्वास र हामीमाथि भरोसा राखेर नियमित रूपले औषधि खाँदै गर । पालो आएपछि हामी अपरेसनको लागि अवश्य बोलाउँछौँ । र, तिम्रो अपरेसन सफल पनि हुन्छ ।”

विनम्र भाषा र स्नेहिल शब्दावलीमा कलमले हवाई पत्रको दुवैतर्फ मसिना अक्षरले आफ्नै हातले लामो चिठी लेखेर अचिनारु रोगीलाई जबाफ फर्काउने यस्तो संवेदनशीलता र हार्दिताको लेश मात्र पनि छ कतै यहाँका हाम्रा डाक्टरसाहेबहरूमा ? त्यो त यहाँको सन्दर्भमा यथार्थ त के, कल्पनाभन्दा पनि टाढाको कुरा हो ।आदरणीय तारानाथ दाइ र डाक्टर साइबाल दुवैका सुन्दर हस्तलिपिमा प्रस्तुत ती दुवै अनमोल चिठीहरू मेरो फाइलमा अझैसम्म पनि ससम्मान सुरक्षित छन् ।

अँ त, अधमरो जीवनमा अपार उत्साह जागेर आयो यो कल्पनातीत जबाफबाट । र, साँच्चै लाइनमा लागेको ठीक दुई वर्षपछि अप्रेसनको तारिखको उल्लेखसहित निमन्त्रणा पनि आयो पुट्टपर्ती स्थित ‘श्री सत्य साई हायर इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ नाउँको त्यस अस्पतालबाट । यो कुरा थियो २०५४ साल जेठ १ गतेको ।

खुसीले झुसी भएर गयौँ हामी असार १० गते फेरि पनि कान्छो भाइ गौतमका साथै जेठो भाइ शुकदेव र बहिनी मनोरमाको समेत दरिलो साथ लागेर । र, असार १६ गतेका दिन सफलतापूर्वक अप्रेसन सम्पन्न पनि भयो पूरै निशुल्क रूपमा । बिदा हुने बेलामा ‘अनुगमनको लागि तीन महिनापछि फेरि आउनू’ भनिएको हुनाले आउँदो असोजमा फेरि रोगीलाई कान्छो भाइ गौतमकै नेतृत्वमा जँचाएर घर ल्याइपुर्‍यायौँ घटस्थापनाको दिन बिहान ।

तर, त्यसको चौथो दिन दिउँसोदेखि नै उनको स्वास्थ्य स्थिति अप्रत्याशित रूपले बिग्रँदैजान थाल्यो । र, राती दस बजे श्वास–प्रश्वास क्रियामा साह्रै गाह्रो परेकाले गाडी रिजर्व गरेर रक्सौलको डङ्कन मिशन अस्पतालमा पुर्‍यायौँ । त्यहाँ सघन उपचार कक्षमा नाना प्रकारले उपचाररत हुँदा हुँदै पनि केही घण्टा अपार कष्ट झेल्दै रहिन् उनी र राती दुई बजेतिर कोमामा पुगिन् । अनि भोलिपल्ट नौरथाको पञ्चमी तिथिका दिन एकाबिहानै त्यहीँ उपचारकै क्रममा बिचरीको प्राण गयो ।

हरे ! कस्तो विडम्बना ! रोगमा पूर्णविराम लगाउन खोजेकोमा उल्टै रोगीको जीवनमा नै पूर्णविराम लाग्यो र मेरो वैयक्तिक र पारिवारिक जीवनमा खग्रास ग्रहण लाग्यो । बिहे गर्दा साढे बाईस वर्षको थिएँ म । साढेबाईस वर्षपछि पैँतालिस वर्षको उमेरमा यसरी विधुर बन्न पुगेँ ।

साढेबाईस वर्षको हाम्रो दाम्पत्य जीवन अवधिमा ठीक सत्र वर्षको लामो कालखण्ड उनको उपचारमै बित्यो,तर पनि अन्तमा हात लाग्यो शून्य । मानौँ यो सत्र वर्षको अवधिमा मैले बन्दा काउली र प्याज मात्र छोडाएँ । उफ ! क्रुर नियतिको सामु कसको के लाग्नु ? भौतिक मृत्युलाई आजसम्म कसले जित्न सकेको छ र यो सृष्टिमा ? मानिसले सक्तो प्रयास गर्ने हो, मैले पनि आफ्नो बुताले भ्याएसम्म गरेँ ।

पछी जेठो छोराले पनि जागिर खान थालेपछि एक दिन उसले मलाई भन्यो— “दाजु, हाम्रो घरको अवस्था अब त्यो बेलाको जस्तो अप्ठ्यारो छैन । आत्मीय जनहरूबाट प्राप्त आपत्कालीन सहयोग रकम अब क्रमशः तिर्दै जाऔँ र स्वाभिमानलाई थप आहत हुनबाट जोगाऔँ ।” त्यसपछि फिर्ता लिन मान्ने कतिपय मित्रहरूलाई मैले उहाँहरूबाट प्राप्त रकम फिर्ता गरेँ । नमान्ने मित्रहरूलाई भने जबर्जस्ती फिर्ता दिएर उहाँहरूको मन दुखाउन चाहिन ।

म चिर कृतज्ञ छु कल्पनाको उपचारमा समर्पणभावले संलग्न सबै चिकित्सकहरूप्रति, नितान्त निरुपाय रहेको मलाई त्यति बेला थोपाथोपा सहयोग जुटाएर, अविस्मरणीय गुन लगाएर धन्य तुल्याउनु हुने मेरा आदरणीय अग्रजहरू, आत्मीय मित्रहरू र स्नेही अनुजहरूप्रति ! अनि उत्तिकै कृतज्ञ छु मलाई त्यस विकराल परिस्थितिमा अभैm प्रलयङ्कारी पीडा थप्नेहरूप्रति पनि । जसले, मलाई जीवनको अर्थ चिन्ने–बुझ्ने सन्दर्भमा अमूल्यज्ञान प्रदान गरे ।
०००