निर्मला हत्याकाण्ड: प्रमाण मेटाउनेहरु नै अपराधि हुन
काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलागेकोमा उनको न्यायको लागि लड्दै आएकाहरुले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले घटनाको प्रमाण मेट्नेहरुबाटै अनुसन्धान सुरु गर्न माग गरेका छन्।
बिहीबार बिहान सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरेको समूहले दिउँसो पत्रकार सम्मेलन गरेको थियो। ‘मानवअधिकार आयोग र गृहमन्त्रालयमा रहेको अनुसन्धानको प्रतिवेदन तत्काल छानबिन गर्न माग गर्छौं’, अभियन्ता हिमा विष्टले भनिन्।
अभियन्ता डा ल्हामो शेर्पाले निर्मला पन्तको बलात्कारपछि प्रकरणमा प्रहरीले १५ वटा गल्ती गरेको बताइन्। छोरी खोज्न सहयोग गरिदिनुस् भन्दा निर्मलाकी आमालाई फोटो लिएर आउनुस् भन्नेदेखि छानबिनका क्रममा पनि प्रशस्तै गल्ती भएको भन्दै उनले सूची नै पेश गरेकी थिइन्। उनले निर्मलाको भनिएको भेजाइनल स्वाबबारे पनि शंका व्यक्त गरिन्।
‘अहिले सबै प्रमाण मेटिइसकेको छ। यो केस नै अदालतमा कमजोर हुने अवस्था छ। केस अदालतमा गयो भने उसले प्रहरीको मुचुल्का, फरेन्सिक ल्याबको घटनाहरुको आधारमा फाइललाई अगाडि बढाउँछ’, शेर्पाले थपिन्, ‘जो मानिसले जानीजानी प्रमाणहरु मेटाएको थियो, नियत नै गलत थियो। अब त्यो नियतलाई प्रश्न गरेर त्यो मान्छेलाई कारबाही गर्नुपर्छ।’
गृहमन्त्रीको आग्रहमा अनुसन्धानमा सहयोग हुने भएकाले काठमाडौंबाट निर्मलाका बाबुआमालाई कञ्चनपुर पठाइएको तर धिरु बस्नेत नेतृत्वको अनुसन्धान टोलीले भेट नै नगरेको अधिकारकर्मी शारदा चन्दले बताइन्। ‘आमाबाबु यतै हुँदै त्यहाँ गएको अनुसन्धान टोलीले बाबुआमा नभेटेको भन्दै रिपोर्ट बुझाउन सक्ने शंकामा हामीले उहाँहरुलाई कञ्चनपुर फिर्ता पठायौं’, चन्दले भनिन्, ‘तर बुधबार मात्रै मेरो कुरा भएको छ, टोलीले सम्पर्क नै गरेको छैन।’
उनले प्रहरीले अहिले पनि नाटक गरिरहेको र मानसिक अवस्था बिग्रिएको मानिस खोजिरहेको भन्दै आक्रोश पोखिन्।
समग्र घटनाक्रमलाई उनले लखनउको सर्कससँग तुलना गरिन्। ‘त्यहाँ एउटा व्यक्तिले डमरु बजाउँछ। तालिम गरेका बाँदरहरु नाच्छन्। यहाँ पनि सरकारले डमरु बजाएको छ, हामीहरु नाचिरहेका छौं’, उनले भनिन्, ‘तर अब हामी नाच्दैनौं। सरकार नाच्नुपर्छ।’
चन्दले सरकारले नसुनेकाले आफूहरुले कानुन मिच्दै सिंहदरबारमा प्रदर्शन गर्नुपरेको बताए। ‘त्यहाँ पुरुष प्रहरीबाट महिलालाई दमन गरियो’, उनले भनिन्।
उनले जिम्मेवार व्यक्तिहरुले घटनाको प्रमाण नभएको भन्दै जवाफ दिइरहेकोमा पनि आक्रोश व्यक्त गरिन्। ‘प्रमाणहरु जानीजानी मेटिएका छन्। योभन्दा ठूलो प्रमाण अरु के हुन्छ’, उनले प्रश्न गरिन्।
साथै, निर्मलाका निम्ति न्याय अभियानका तर्फबाट नेपाल सरकारसँग बुँदागत रुपमा विभिन्न माग पनि गरिएको छ। ‘निर्मला बलात्कार तथा हत्या कान्डको सुरु अनुसन्धानको नेतृत्व गर्ने एसपी डिल्लीराज बिष्ट लगायतका अनुसन्धान टिमलाई विभागीय कार्यबाहीमा मात्र सिमित नराखी फौजदारी कानुनको दायरामा तत्काल ल्याउ’, मागपत्रमा अगाडि भनिएको छ, ‘नेपालको कानुन– मुलुकी फौजदारी (संहिता) २०७४ को दफा ८९, ९३ र ९९ अनुसार अनुसन्धानका क्रममा झुट्टा प्रमाण बनाएको, कसुरको प्रमाण दबाउने, बदनियतपूर्वक अनुसन्धान गर्ने लगायतका कार्य गरेको सम्बन्धमा सार्वजनिक न्याय विरुद्धको कसुर अनुसन्धान गरी कारबाही गर र कानुनको शासनलाई लागू गर।’
यसैबीच, बिहीबार बिहान ११ बजे सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरिएको छ। घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्। प्रदर्शनकारीले गृहमन्त्री र आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनीहरु विरुद्ध नारा लगाएका थिए।
विभिन्न पेशा तथा संस्था आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका थिए। उनीहरु योजनाबद्ध रुपमा ‘छापामार शैली’मा ब्यानरसहित गेटमा पुगेका थिए। अन्य बेलामा जस्तै स्वभाविक रुपमा आउजाउ चलिरहेको सिंहदरबारमा अघिल्तिर एउटा समूह ‘निर्मलाको निम्ति न्याय’ भन्दै प्रदर्शनमा उत्रिएपछि प्रहरी अन्योलमा परेको थियो।
प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाएका थिए।
गत साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। तर धेरैथरि अनुसन्धान टोली बने पनि अपराधी पत्ता लाग्न सकेको छैन।
निर्मलाका निम्ति न्याय माग गर्दै देशै भरि प्रदर्शन भइसकेका छन्। निर्मलाका आमाबाबु केही हप्ताअघि काठमाडौं आएर गृहमन्त्री तथा प्रधानमन्त्री लगायतलाई भेटेका थिए। न्यायको आश्वासन पाए पनि त्यो आश्वासनमै सीमित भएको छ। बरु प्रधानमन्त्रीकै तहबाट अपराधी पत्ता लगाउन वर्षौं लाग्न सक्ने अभिव्यक्ति आउन थालेको छ।