निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट: भारतीय नागरिक पक्राउ
काठमाडौं- ०७५ साउन ११ गते भएको निर्मला पन्त हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीले यो प्रकरणमा संलग्न रहेको आशंकामा एक जना भारतीय नागरिकलाई पक्राउ गरेपछि ट्वीस्ट देखिएको हो ।
१३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । अनुसन्धानका लागि अली भारतीय नागरिक ओलीलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अलीलाई भारतबाट पक्राउ गरिएको हो । उनलाई १५ दिन अगाडी पक्राउ गरिएपनि अनुसन्धान जारी रहेकाले सार्वजनिक भने गरिएको छैन । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएको बुझिएको छ ।
निर्मलाको शव भेटिएको उखुबारी नजिकै भारतीय नागरिक अलीका बुवाले तरकारी खेती गर्दै आएको खुलेको छ । उनका बुवाले जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको बताइएको छ ।
डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ । अलीको डीएनए परीक्षणका लागि पठाइएको छ । प्रहरी स्रोतका अनुसार घटना भएको बेला अली नेपालमै रहेको अनुसन्धानले देखाएको छ ।
०७५ साउन ११ गते निर्मलाको शव भीमदत्त नगरपालिकाको एक उखुबारीमा फेला परेको थियो ।