निर्मला हत्या प्रकरण : गृहमन्त्रीको राजीनामा माग
डडेल्धुरा- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा प्रदर्शन गरिएको छ।
निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको र आन्दोलनमा सहभागी किशोर सनी खुन्नालाई गोली हानी मारिएको भन्दै डडेल्धुरामा शनिबार पनि आम नागरिकहरुले आन्दोलन गरेका हुन्।
आन्दोलनकारीहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा समेत माग गरेका छन्। प्रदर्शनकारीले जिल्ला सदरमुकाम क्षेत्रमा गृहमन्त्रीको राजीनामा माग गर्दै चर्का नारा लगाएका छन्। घटना भएको एक महिना पुग्न लाग्दा समेत दोषी पक्राउ गर्न नसकेको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन्।
प्रदर्शनमा ‘असक्षम गृहमन्त्री राजीनामा दे’ ,’ हत्यारालाई कारबाही गर’ ,’ नागरिक सुरक्षा कायम गर’,’ कानुनी राज्य स्थापित गर’,’ दण्डहिनताको अन्त्य गर’,’ मानवअधिकारको रक्षा गर’लगायतका चर्का नारा लगाइएका थियो।
प्रहरीले अभियुक्तका रुपमा दिलीपसिंह विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको नागरिक अगुवाहरुको आरोप छ। वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएको उनीहरुको भनाइ छ। आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो। आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो।