निर्मला पन्तका कपडा र नक्कली औंठाछापको रहस्य के हो ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

निर्मला पन्तका कपडा र नक्कली औंठाछापको रहस्य के हो ?



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिँदा लगाइएका कपडा पनि प्रहरीले नै नष्ट गरेको आशंका बढेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले संसदीय समितिमा निर्मला पन्तका कपडा नष्ट भएको बताउँदै उनका बुवाको औंठाछाप पनि नक्कली भएको उल्लेख गरेपछि यो विषय बाहिर आएको हो ।

साउन ११ गते घर नजिकैको उखुबारीमा निर्मलाको शव फेला परेको थियो । घोप्टो अवस्थामा रहेको निर्मलाको शवबाट उनले लगाएको कपडा निकालेर प्रहरीले नै पखालिदिएका थिए । त्यसपछि उक्त कपडा पनि प्रहरीले नै नष्ट गरेको हुन सक्ने आशंका गरिएको छ ।
निर्मलाका बुवा यज्ञराज पन्तले पोष्टमार्टमपछि निर्मलाको शरीरमा लगाएको कपडा नभएको बताएका छन् । प्रमाण रहन सक्ने आशंकामा उक्त कपडा नष्ट गरिएको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।

गृहमन्त्री थापाका अनुसार घटनामा कैयौं प्रमाणलाई मेटाउने प्रयास भएको छ । त्यो पनि प्रहरीबाटै । साउन ११ गते निर्मलाको हत्या भएको दिनमा नै मुचुल्का तयार पारिएको छ । त्यसमा निर्मलाका बुवाको औंठाछाप रहेको छ । तर बुवा यज्ञराज पन्त भोलिपल्ट अर्थात साउन १२ गते मात्रै भारतबाट नेपाल आएका थिए ।

समितिको प्रतिवेदन भन्छ– अनुसन्धान एसपी विष्टबाटै थालिनुपर्छ

निर्मला हत्याकाण्डको विरोधले उग्ररुप लिएपछि भदौ ७ गते गृह मन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिमा  नेपाली सेनाबाहेक ३ वटै सुरक्षा निकायका एक–एक जना डीआईजी र एकजना प्रदेश ७ कानुन मन्त्रालयका उप–सचिव सदस्य राखिएको थियो ।

समितिले भोलिपल्टैबाट काम सुरु गरेको थियो । ८ गतेबाट काम सुरु गरेको टोलीले असोज ९ अर्थात मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई प्रतिवदन बुझाएको छ । गोप्य राखिएको प्रतिवेदनलाई पूर्ण कार्यान्वयन गर्ने गृहमन्त्री थापाले आश्वासन पनि दिएका छन् । तर स्रोतका अनुसार प्रतिवेदनले ‘संदिग्ध हत्यारा’ को पहिचान र किटान भने गर्न सकेको छैन ।

प्रतिवेदन मूलतः प्रहरीले गरेको अनुसन्धानका क्रममा भएका त्रुटिमा केन्द्रित रहेको स्रोतले जानकारी दियो ।

उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । साउन १० गते निर्मला हराइन् भने आमा दुर्गाले प्रहरीलाई खबर गर्दा चासो नदिएको कुराबाट प्रतिवेदन सुरु भएको छ । समितिका एक सदस्य भन्छन्, “प्रहरीले चासो नदिनुको पछाडिको कारण गम्भीर देखिन्छ ।”

प्रतिवेदनमा एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न खोजेको आशंका छ ।

“साउन १० गते नै प्रहरीलाई निर्मला हराएको खबर थियो । तर भोलि खोजौंला भनेर टारियो । त्यसपछि अर्को दिन निर्मलाको शव उखुबारीमा भेटिँदा प्रमाण नष्ट गर्ने नियतले निर्मलाको सुरबाल पखालियो । घटना हेर्दा त्यो प्रमाण लुकाउन खोजेको देखिन्थ्यो । त्यतिमात्रै नभएर निर्मलाको बाहिर नै हत्या गरेर उखुबारीमा ल्याएर शव राखेको जस्तो देखिन्थ्यो । त्यो पनि प्रमाण नष्ट गर्न घोप्टो पारेर राखिएको थियो,” प्रतिवेदन उद्धृत गर्दै गृह मन्त्रालय उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार घटनाको सुरुदेखि नै अनुसन्धान गर्ने हो भने प्रमाण नष्ट गर्न आदेश दिने प्रहरीलाई नै नियन्त्रणमा लिनुपर्ने प्रतिवेदनको सार रहेको छ ।