निर्मला हत्याकाण्ड: यो सरकार र प्रहरीबाट न्याय सम्भव छैन ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निर्मला हत्याकाण्ड: यो सरकार र प्रहरीबाट न्याय सम्भव छैन !



सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन । त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७३ दिन पुगेको छ । तर हत्या अनुसन्धान शून्यमै छ  । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । हत्या भएलगत्तै प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसका कारण अनुसन्धान डीएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको थियो । तर डीएनए पनि नेगेटिभ आएपछि अनुसन्धानको पाटो अब कता भन्ने प्रश्न आमजनमानसमा उब्जेको छ ।

घटनाको अनुसन्धानका लागि ६ टोली खटियो तर अनुसन्धान शून्यमै छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली, उच्चस्तरीय छानबिन टोलीलगायतका टोलीले अनुसन्धान गरिरहँदा हात लाग्यो शून्य भनेझैं भएको छ ।

निर्मलाको हत्या गरी शव फेला परेकै दिन १० साउनमा गृह मन्त्रालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक अंगुर जीसी नेतृत्वको टोली अनुसन्धानका लागि कञ्चनपुर पुगेर अनुसन्धान थाल्योे । प्रहरीले ११ साउनमा उल्टाखामकै स्थानीय चक्र बडू, उनकी बहिनी लक्ष्मी र भाइ गौतमलाई पनि पक्राउ गरी यातना दियो । उनलाई पनि अपराध स्विकार्न र अस्वीकार गरे परिवार नै बर्बाद गरिदिने धम्की तत्कालीन एसपी डिल्ली विष्टले दिएका थिए । १२ साउनमा प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई पनि पक्राउ गरेको थियो । तर, पछि दुवै जनालाई छाडियोे ।

त्यस्तै, प्रहरीले १८ साउनमा स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने १७ वर्षीया किशोरी हेमन्ती भट्टलाई पक्रेर पाँच दिनसम्म यातना दिएको थियो । आफन्त पुरुषहरूसँग मिलेर अपराध गरेको बयान दिन नमाने जीवन बर्बाद गराउने धम्की एसपी विष्टले दिएका थिए ।

दिनहुँको आन्दोलन र प्रहरीको आलोचना हुँदा प्रहरीले घटनाको २५ दिनपछि ४ भदौमा भीमदत्त नगरपालिका–१९ का दिलिप विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । तर, निर्मलाको शरीरमा भेटिएको प्रमाणको डीएनए रिपोर्ट दिलिपसँग नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका छन् । दिलिप रिहा भएसँगै निर्मलाको हत्यारा को हो भन्ने प्रश्न जन्मिएको छ । प्रहरीकै अनुसन्धान झुटो साबित भएपछि प्रहरीमाथि थप चुनौती बढेको छ ।

अझै पनि कञ्चनपुर घटनालाई लिएर सर्वसाधारणमा अनेक आशंका उब्जिएकै छन् । कञ्चनपुर घटनाले प्रहरीका काम कारबाहीप्रति प्रश्न उठेका छन् ।
घटनामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टको कमीकमजोरी भएकै हो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको टोली, सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको टोली र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत स्वीकार गरेका छन् ।

एसपी विष्ट नेतृत्वको टोलीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेको छ । एसपी विष्टलाई सरकारले निलम्बनसमेत गरेको छ । उनीसँगै त्यहाँ खटिएका अन्य प्रहरी कर्मचारीमाथि पनि छानबिन भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली दोस्रोपटक महेन्द्रनगर पठायो । आन्दोलन चर्केपछि ८ भदौमा सरकारले सहसचिव एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो । मैनाली नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य रहेको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली महेन्द्रनगर पुगेको थियो । सो टोलीले पनि आवश्यक अनुसन्धान र सूचना संकलन गरिरहेको जनाएको छ ।

आन्दोलन नरोकिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक दिल्ली विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालाई गृह मन्त्रालयमा तानेर नयाँ सुरक्षा नेतृत्व जिल्लामा पठाएको थियो । सो घटनापछि तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्टलगायत पाँच जना प्रहरी अधिकारीलाई निलम्बनसमेत गरियो तर पनि अनुसन्धानबारे सुईको समेत लाग्न सकेको छैन ।

हत्या तथा बलात्कार प्रकरणको छानबिन गर्न गृह मन्त्रालयबाट गठित समितिलाई तोकिएको १५ दिनको समयावधिभित्रै प्रतिवेदन पेस गर्ने उद्देश्यका साथ प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार पारेर डीएनए टेस्टको कम्प्लिकेसन र १५ दिनभित्र प्रतिवेदन पेस नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिसमक्ष बारम्बार आफ्नो धारणा राख्दै आएका समितिका सदस्य वीरेन्द्र केसीले छानबिन समितिबाट राजीनामा समेत दिन भ्याएका थिए । तर २४ घण्टाभित्रै फेरि उनी समितिमै फर्किए । सो समितिले पनि प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएको र तत्कालीन एसपी विष्टमाथि नै अनुसन्धान गनुपर्ने देखायो ।

एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोलीले प्राविधिक रूपमा अनुसन्धानका लागि कञ्चनपुरमा सूचना संकलनदेखि विभिन्न कोणबाट एक महिनादेखि अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, प्रहरी प्रधान कार्यालयबाट एसपी दुर्गा सिंह नेतृत्वको अर्काे टोलीले पनि अनुसन्धान गरिरहेको छ । महिलाको नेतृत्वमा टोली खटाउँदा थप सूचना प्राप्त हुन सक्ने र अनुसन्धानमा सहज हुने प्रहरीको विश्वास छ ।
त्यस्तै, अनुसन्धानमा भएको लापर्बाहीको विषयमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको टोलीले पनि छानबिन गरिरहेको छ । प्रहरीले भर्खरै एआईजीमा बढुवा भएका धिरु बस्नेतको नेतृत्वमा अर्काे आन्तरिक छानबिन समिति गठन गरेर प्रहरीको कमजोरी केलाइरहेको छ ।

हत्या घटनामा निलम्बनमा परेका प्रहरीमाथि पनि पोलिग्राफ परीक्षण गरिएको छ । एसपी विष्टसहित निलम्बनमा परेका डीएसपी सेटी, डीएसपी जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक राम सिंह धामीमाथि पोलिग्राफ परीक्षणसमेत गरिएको छ तर पोलिग्राफ परीक्षणले पनि प्रहरीलाई साथ दिएन ।

निर्मला हत्याको अनुसन्धानका लागि विभिन्न आधा दर्जन टोली कञ्चनपुरमै अनुसन्धानमा सक्रिय छन् । निर्मला हत्याको अनुसन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवालीसहित प्राविधिक टोली, क्राइम सिन विज्ञ टोली, महिला तथा बालबालिकासम्बन्धी विज्ञ टोली र कञ्चनपुर प्रहरीको आफ्नो छुट्टै टोली छ । यीबाहेक राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले पनि अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धान छुट्टाछुट्टै गरिरहेका भए पनि कुनै पनि टोलीले ठोस प्रमाण हात पार्न सकेको छैन । प्रहरीले अनुसन्धानका क्रममा ५ सय बढीलाई सोधपुछ गरेको र केही व्यक्तिलाई गोप्य रूपमा निगरानीमा राखेको छ । प्रहरीले यतिबेला विभिन्न व्यक्तिलाई निगरानीमा राखेको छ । निर्मलाको शव भेटिएको स्थानभन्दा १ किलोमिटर क्षेत्रमा नेपाली सेनाको ब्यारेक रहेकाले केही सेनाका जवानलाई अनुसन्धानको घेरामा राखेको छ । यस्तै राजनीतिक दलका केही नेता, व्यापारी, आपराधिक पृष्ठभूमिका व्यक्तिमाथि पनि अनुसन्धान सुरु गरेको छ ।
बलात्कारपछि हत्या गरिएकी छोरीका लागि आमाबुबा न्याय खोज्दै सिंहदरबारको ढोका घच्घच्याउन आइपुगे । मुलुक संघीयतामा गए पनि न्यायका लागि अझै पनि काठमाडौंको सिंहदरबारको ढोका ढक्ढक्याउन पुग्नु देश र जनाताका लागि दुर्भाग्य हो ।

निर्मला बलात्कारपछि हत्याको चित्कार यतिबेला देशभरि चर्चाको चुलीमा रहँदा मुकदर्शक बनेको सरकारलाई जनताले अब कुन अर्थले हेर्ने ? त्यो अझै बाँकी छ । बलात्कारजस्तो निकृष्ट कार्य र त्यसलाई ढाकछोप गर्न खोज्ने महानिकृष्टताको पराकाष्टाले सरकार नै डगमगाएको छ ।

दुई तिहाइको सरकार हुँदा पनि शासन व्यवस्थाअन्तर्गतका सामान्य कार्य सञ्चालनमा नै सरकार अलमलिन पुग्नु अर्को ठूलो विडम्बना बनेको छ । तसर्थ यसबारे अब प्रधानमन्त्रीले सोच्ने होइन, निर्णय नै लिई सक्नुपर्ने हो तर अब ढिलो भइसकेको छ । निर्णय गर्न अझै ढिलाइ भयो भने भीरमा पुगेको गाईलाई राम राम भन्नबाहेक के नै गर्न सकिन्छ र भन्ने अवस्था आउन नसक्ला भन्न सकिँदैन ।

बलात्कारी भनेर तनाव दिएर राखेका मानसिक बिरामी दिलिपसिंह विष्टको डीएनए निर्मलाको ‘भेजिनल स्वाब’बाट निकालिएको बलात्कारीको वीर्यसँग मेल नखाएपछि प्रहरीप्रति आमनागरिकको टुटेको विश्वासलाई कसरी जोगाउने र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे राज्यले गम्भीर भएर सोच्न जरुरी छ ।
निर्मला पन्तको हत्याकाण्डले प्रहरी मात्र होइन, राज्यलाई नै ठूलो पाठ सिकाएको छ । जसले समग्र प्रहरी कमान्डमाथि नै संगीन प्रश्न उठाएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्ड आज राष्ट्रियकरण हुँदै अन्तर्राष्ट्रिय चासोसम्म पुगेको छ । यस घटनाको सत्यतथ्य जनतासमक्ष राख्दै दोषीलाई कारबाहीसँगै अबको पुलिसिङ कसरी अगाडि बढ्ने भन्नेबारे बहस सुरु गर्न ढिला गर्नुहुँदैन ।

यो घटनाले मुख्य दुई प्रश्न खडा गरेको छ । एउटा त प्रहरीले सामान्य नागरिकको न्यायमा नजरअन्दाज गरिरहेको छ भन्ने कुरा छर्लंग भएको छ भने अर्को प्रहरीले जसलाई चाह्यो त्यसलाई अभियुक्त करार गरिदिन सक्छ ।

पटकपटक नागरिकको आड, भरोसा, शान्ति, सुरक्षा र अमनचयनसँग जोडिएको प्रहरी संगठनमाथि गम्भीर आरोप लाग्नु र मात्रामा जतिसुकै होस् तर प्रहरीको कमजोरी देखिनु कदापि राम्रो संकेत होइन । र, यसलाई कुनै एउटा मात्रै घटनासँग जोडेर हेर्नुभन्दा पनि विगत केही वर्षयताका मुख्यमुख्य घटनाहरूको विश्लेषण गरेर सोहीअनुसार आगामी बाटो तय गर्नु संगठन र राज्य दुवैका लागि हितकर हुन्छ ।

सुरेश पन्तले राजधानीमा लेखेका छन्