निर्मलाको लागि न्याय माग्दा यस्तो हालत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

निर्मलाको लागि न्याय माग्दा यस्तो हालत



काठमाडौं। बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए ।

क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यबारे जानकारी गराउँदै थिइन् ।

कचौराको खाना खाइसकेपछि अर्जुनले आगन्तुकतर्फ हेरे । आगन्तुकले उनीसँग सेल्फी खिचे । अर्जुन फिस्स हाँसे, बोल्न सकेनन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको न्यायिक आन्दोलनका क्रममा ७ भदौमा प्रहरीको गोली लागेर घाइते भएका हुन् अर्जुन । गोली दायाँ खुट्टाको पिँडुलामा लागेको थियो ।

भीमदत्तनगर–१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टको बायाँ हातमा गोली लागेको थियो । अहिले पनि उनको हातमा गोलीका छर्रा छन् । स्थानीय भृकुटी माविमा कक्षा ८ मा अध्ययनरत चेतनले स्कुल जान नसके पनि अर्धवार्षिक परीक्षा भने दिएका छन् । ‘अहिले पनि हात दुखिरहन्छ,’ उनले भने, ‘त्यसैले विद्यालय जान सक्दिनँ ।’

भीमदत्तनगर–२ भाँसीका १६ वर्षीय उमेश देउवा चार महिना बित्दा पनि स्कुल जान सकेका छैनन् । उनको बायाँ खुट्टामा गोली लागेको थियो । अप्रेसन गरेर उनको खुट्टामा रड राखिएको छ । तीन महिना अस्पताल बसेर घर आएका उमेशले अर्धवार्षिक परीक्षा दिन सकेनन् । उमेशका बुबा यज्ञराजले छोराको पढाइ मात्र नभई जिन्दगी नै बर्बाद भएको पीडा सुनाए ।

आन्दोलनका क्रममा गम्भीर घाइते अरू तीनको स्वास्थ्यमा पनि अझै पूर्ण सुधार भएको छैन । भीमदत्तनगर–२ भाँसीका ४१ वर्षीय तेजराज भट्टको टाउकोमा गोलीका छर्रा लागेको थियो ।

चटौतको टाउकोमा चोट लागेको थियो । उनले पनि भारतको राममूर्ति अस्पतालमा उपचार गरे । एक लाख पाँच हजार खर्च भए पनि सरकारले ९२ हजार मात्रै दिएको उनको दुखेसो छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।