निर्मलाको हत्यारा कसरी पत्ता लाग्ला ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

निर्मलाको हत्यारा कसरी पत्ता लाग्ला ?



कर्ण अधिकारी।

श्रावण १० गते बलात्कार पश्चात् हत्या गरिएको निर्मला पन्तको विषयमा आज फेरी कलम चलाउने जमर्को गर्दै छु किनकि मेरो मन भित्र उब्जिएका थुप्रै अनुतरीत प्रश्नहरू र तिनका जवाफ पाठकबाट पाउने अपेक्षा राखेको छु।आगोको राप झैँ रापिएको मेरो मनले फेरी शब्द मार्फत केही ओकल्ने प्रयास गर्दैछ।एक अबोध किशोरी निर्मला पन्तको हत्या पश्चात् कंञ्चनपुरमा थुप्रै नाटकहरू मञ्चन गरे सरकारी पक्षबाट अर्थात् सुरक्षा निकायबाट आज ती नाटकहरू क्रमबद्ध तवरबाट फेल हुँदै गई रहेको छ भने नेपाली जनताले विश्वास गरेका सरकार र सुरक्षा निकाय प्रति नै औला ठडिन थालिएको छ।सुरक्षा निकायका केही लाचार र पीतहरूका कारण आज सिङ्गो प्रहरी प्रशासन नै निकम्मा भएको छ।छान बिन समितिले पनि प्रतिवेदन प्रस्तुत गर्न ढिलाइ गरी रहेको छ।

प्रहरीकै संलग्नतामा योजनाबद्ध ढङ्गले प्रमाण नष्ट गरिएको पुष्टि भइसकेको छ।प्रहरीको यस्तो कार्यशैलीले पञ्चायत कालमा पोखराको नमिता,सुमिता काण्ड र बहुदलीय व्यवस्था पछि कमरेड मदन भण्डारी र जीवराज आश्रितको दास ढुङ्गा काण्डको झझल्को दिने प्रयत्न भएको भन्दै आईजीपी खनालमाथि नागरिकस्तरबाटै दबाब सुरु हुन थालेको छ।निलम्बित एसपी डिल्लीराज विष्ट, इन्स्पेक्टर एकेन्द्र खड्का तथा सीआईबीका डिएसपी अंगुर जिसीलाई कानुनी दायरामा लिएर डीएनए परीक्षण गरी छानबिन गरेमा निर्मला हत्याको सबै तथ्य बाहिर आउनमा मद्दत मिल्ने छ ।

एक निर्दोष एवं मानसिक रोगबाट पीडित भएको व्यक्ति दिलीप सिंह विष्ट नै बलात्कारी र हत्यारा हुन भन्दै सार्वजनिक गरेका सिआईबी टोलीको समेत कमी र त्रुटि फेला परेको छ किनकि डिएनए म्याच नभएको कारण दिलीप सिंह बिस्टलाई रिहा गरिएको छ।दिलीप सिंह विष्टको रिहाइ पश्चात् हत्यारा र बलात्कारीको हुन भन्दै प्रहरी प्रशासन माथि नै औला ठडिए सँगै गृह र प्रहरी प्रशासनलाई थप चुनौती थपिएको छ।सरकार र प्रहरी प्रशासनले नयाँ रणनीति अपनाएर घटनाको छानबिनमा लाग्ने कुराको जानकारी गराएको छ।

निर्मलाको बलात्कार पश्चात् हत्या भए पछि उब्जिएका प्रश्नहरूले अझै उत्तर पाउन सकेको छैन।झन् शङ्का माथि शङ्का थपिँदै गएको अवस्थामा प्रश्न उब्जिनु स्वाभाविकै पनि हो।यसै मध्येका केही प्रश्नहरू :- निर्मलाको बलात्कार हुनु अगाडी बम दिदी बहिनीले गेस पेपरको लोभ देखाउँदै कहिले नगएको बमको घरमा किन बोलाइन् ? बम दिदी बहिनीको आर्थिक हैसियत हुँदा हुँदै पनि १५ रूपैयाको उधारो चटपटे किन खाए ? एसपी विष्टका टोलीले हत्या पश्चात् फालिएको शवको प्रमाण नष्ट किन गर्न लगाए ? कर्फ्यु नै जारी गरी किन जनता मारियो ? निर्मलाको बाबुलाई जब्बर जस्ती शव बुझ्न किन लगाए ?

निर्मलाको बाबुलाई नै छोरीको बलात्कारी तै होस भन्न समेत पछि परेनन् एसपी साप आखिर किन ? मानसिक रोगी दिलीप सिंह विष्टलाई किन हत्यारा साबित गरियो ? के यो देशमा गरिब दु:खीहरूले गरिब भएकै कारण यस्ता झुट्टा आरोप खेप्नै पर्ने हो ? बम दिदी बहिनीको घरको अम्बाको रूख किन रातारात काटियो ? निर्मलाको आमालाई किन बमको घर भित्र पस्न दिएन ? निर्मलाको मामाले किन निर्मलाको बाबुलाई जब्बर जस्ती लास बुझ्नका लागि दबाब दिए ? निर्मलाको बाबु र मामा बिच किन विवाद सृजित भयो ? गृह मन्त्रीले किन संसद्मा दुई व्यक्ति पक्राउ परेको कुरा सुनाए ? यस्ता थुप्रै प्रश्नहरू छन् जो तपाईँहरूको मनमा पनि सृजित भएको छ।

निर्मला हत्या प्रकरणका विषयमा महामहिम राष्ट्रपति विद्या देवी भण्डारी ज्यू मौन हुनु हुन्छ।राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हाल्दै आउनु भएका राष्ट्रपतिले यस्ता विषयमा मौन बस्नुले नेपाली नारीहरू प्रति नै अपमान गर्नु भएको हो की भन्ने आभास भएको छ।हुन त उहाँकै श्रीमान् कमरेड मदन भण्डारीको हत्या भएको आज २५ वर्ष बित्दा समेत हत्यारा पत्ता लगाउन सक्नु भएको छैन भने निर्मला पन्तको हत्यारा पत्ता लगाउन कठिन देखिएको छ।भएको एउटा जीवित साक्षी अमर लामालाई समेत माओवादी द्वन्दको नाममा जीउदो सबुत मेटाई दिनका लागि हत्या गरी दिए।यति ठुलो पद र प्रतिष्ठामा रहेको मान्यवरहरूको त न्याय मिल्दैन भने बिचरी निर्मलाको आत्माले कसरी न्याय पाउलिन्।महामहिम राष्ट्रपति ज्यू सक्नु हुन्छ भने नेपाली चेलीहरूको हितका लागि केही बोल्नु होस् ।

अन्त्यमा निर्मला हत्या काण्डका विषयमा सामाजिक सञ्जालहरूमा,युट्युबमा साथै अनलाइन पोर्टलहरूमा भ्युअर बढाउनका लागि बढाई चढाई गरेर पोस्ट गर्नेहरू प्रति मेरो एउटै गुनासो छ कृपया सत्य तथ्य कुरा मात्र बाहिर ल्याई दिनु होला।जनता र पाठक झुक्क्याउने खालका न्युज हरू पोस्ट नगर्नु होस्।

(यस हिमाल पोस्ट डटकमबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘हिमाल पोस्ट डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकोले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, विना अनुमति हाम्रा सामग्री प्रयोग गरेमा विद्युतिय ऐन अन्र्तगत कानुनी दायरामा जान हामी बाध्य हुने छौ ।)