निर्मला काण्ड: गृहमन्त्रालयमा राति राति बैठक किन भयो ? - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

निर्मला काण्ड: गृहमन्त्रालयमा राति राति बैठक किन भयो ?



काठमाडौं। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले बलजफ्ती अभियुक्त बनाएका दिलिपसिंह विष्ट रिहा भएसँगै अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत र छानविन समितिबाट राजीनामा दिने उपसचिवमाथि छानविन हुने भएको छ।

मंगलबार राति गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत र उच्चस्तरीय छानविन समितबाट राजीनामा दिने उपसचिव वीरेन्द्र केसीमाथि छानविन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालय र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गर्दै उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। वैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल डिआइजी रामप्रसाद श्रेष्ठ लगायत सहभागि थिए।

बैठकले कञ्चनपुरका तत्कालीन प्रमुख डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी र सीआइबीबाट खटिएका डिएसपी अंगुर जिसी प्रहरी निरीक्षक एकिन्द्र खड्का तथा छानविन समितिमा रहेका उपसचिव विरेन्द्र केसीमाथि छानविन गर्ने निष्कर्ष निकालेको छ। हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान गरिएको देखिएन भन्दै बैठकले उनीहरुमाथि छानविन गर्ने निर्णय गरेको हो।

अनुसन्धानमा खटिएका अधिकारीसहित उपसचिव वीरेन्द्र केसीले दिएको अभिव्यक्तिबारे समेत छानविन गरि थप अनुसन्धान गर्नुपर्ने निर्णय बैठकले गरेको बैठकमा सहभागि डिआइजी रामप्रसाद श्रेष्ठले बताएका छन्।