निर्मला काण्ड: थप प्रहरी बर्खास्त गरिंदै, सर्वेन्द्र खनाल तात्दै
काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गर्ने थप २ जना प्रहरी अधिकृत बर्खास्तमा पर्ने भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ । यसअघि दुईजना प्रहरी बर्खास्तमा परिसकेका छन् ।
प्रहरीका अनुसार ‘‘ अनुसन्धानमा उनीहरुको पनि लापरवाही देखिएकाले बर्खास्तीमा पर्न सक्छन् । नाम अहिले नै नभनौं । अन्तिम अध्ययनमा छौं ।’’
प्रहरी बताउँछ बर्खास्तीमा कञ्चनपुरमै कार्यरत २ जना अधिकृत पर्ने सम्भावना छ ।
प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने,‘‘थप प्रहरी अधिकृतलाई बर्खास्तीको कुरा मेरो जानकारीमा छैन । हाम्रो आन्तरिक समितिले प्रतिवेदन बुझाएको पनि छैन । घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ नै । सँगसँगै प्रहरीमाथि पनि छानबिन जारी छ ।’’
प्रहरी नियमावलीमा प्रहरी निरीक्षक भन्दा तल्लो तहका प्रहरी बर्खास्तको अधिकार प्रहरी महानिरीक्षकलाई हुन्छ ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दा माथिका अधिकृतलाई बर्खास्त गृहसचिवस्तरीय निर्णयबाट हुन्छ । निर्मला हत्या प्रकरणको अनुसन्धानलाई लिएर कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्टलाई बर्खास्त गरिसकेको छ ।
गृहले विभिन्न ७ वटा आरोप लगाउँदै उनीहरुलाई सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गरेको हो । बर्खास्तमा परेका एसपी विष्ट र इन्स्पेक्टर भट्टले गृहको निर्णयमाथि पुनर्विचार गर्न पुनरावेदन गर्ने तयारी गरेका छन् । गृहसचिवस्तरीय निर्णय मन्त्रिपरिषदले उल्ट्याउन सक्ने वा सदर गर्न सक्छ ।
गत साउन १० गते साथीको घर जान हिँडेकी निर्मला साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि हत्याराको पहिचान हुन सकेको छैन । तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्व र महाततका प्रहरी इकाईले अनुसन्धानमा गम्भीर लापरवाही गरेको निष्कर्ष गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत निकालेको थियो ।