निर्मला हत्याकाण्ड: प्रहरीकै अनुसन्धान गर्नुपर्ने !
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् ।
रिपोर्टस क्लबमा भएको कार्यक्रममा आइतबार उनले भने, “घटना भएको आज ५२ दिन भैसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीको अनुसन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्छ ।”
नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले नै अनुसन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिससकेपछि अनुसन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भएपनि त्यसो नगरिएको उनको गुनासो छ ।
उनले भने, “यस्ता किसिमका घट्नाको अनुशन्धान गर्न नेपाल प्रहरीले दक्ष, स्रोधसाधनयुक्त र निर्भिक प्रहरी युनिट गठन गर्नुपर्छ । टा«फिक, र शान्तिसुरक्षा लगायतका सबै कुरा एउटै प्रहरीबाट सम्भव हुँदैन । यसको लागि छुट्टै युनिट गठन गर्नुपर्छ ।”
उनले निर्मला पन्तको हत्या घट्नाबारे डीएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरु बाहिरबाट झिकाउनुपर्ने माग गरे ।
उनले भने, “छानबिनको लागि डीआईजीभन्दा माथिल्लो नेतृत्वको प्रहरी अधिकारी सम्मिलित अनुसन्धानमा विशिष्ट विज्ञ समिति बनाउनुपर्छ ।” पछिल्लो समय मुलुकमा बलात्कारलगायत मानव अधिकारविरुद्धका घटनाहरु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थामा प्रहरी कहाँ छ ? र सरकार कहाँ छ ? भन्दै प्रश्न गरे ।
उनले भने, “एउटा घट्नाको पीडित कञ्चनपुरबाट न्याय माग्न काठमाडौं आउनुपर्ने ? प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुपर्ने ? त्यसमापनि समय नदिने ? मानव अधिकार, कानुनी शासन र न्याय भन्ने कुरा यही हो ?” निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुले निरन्तर अनुसन्धान गरिरहेको टोली र सरकारले गठन गरेको समितिको अनुुसन्धान प्रक्रियामाथि पनि निगरानी गरिरहेको पाठकको भनाइ छ ।
उनले भने, “यसको लागि हामीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आयोगमै बोलाएर छलफल गर्ने तयारी गरेका छौं । सम्भवतः भोलि उहाँहरुसँग छलफल हुन्छ ।”