निर्मला हत्याकाण्ड: अनुसन्धानमा नयाँ मोड ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निर्मला हत्याकाण्ड: अनुसन्धानमा नयाँ मोड !



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा प्रहरी अनुसन्धान उल्टो भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गर्न प्रहरी मुख्यालयले छुट्टै समिति गठन गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । सुवेदी प्रहरी संगठनमा अपराध अनुसन्धानमा काबिल प्रहरी अधिकृत हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान उल्टो पाइएपछि सबैतिर आलोचना भइहरेको छ । प्रहरीले बलात्कार र हत्यामा संलग्नताको आरोपमा ४१ वर्षीय पदिलिसिंह विष्टलाई पक्राउ गरेको थियो । तर, डिएनए परीक्षणका क्रममा निर्दोष पाइएपछि विष्ट रिहा भइसके ।

विष्टको डिएनए मेल नखाएपछि प्रहरीले बास्तविक अपराधी जोगाउन मानसिक सन्तुलन ठीक नभएका विष्टलाई फसाउन खोजेको खुलासा भएपछि मृतक निर्मलामा बाबुआमा र महिला अधिकारकर्मीको टोली राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री भेटेर घटना छानबिनका लागि दबाब दिने भन्दै कञ्चनपुरबाट काठमाण्डु आएको छ ।

प्रहरीले यसअघि एसएसपी ठाकुर ज्ञवाली नेतृत्वमा छानबिन टोली कञ्चनपुर पठाएको थियो । सुवेदी नेतृत्वको छानबिन टोलीलाई निलम्बित तकालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट तथा घटना छानबिनका लागि कञ्चनपुर गएका केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का डिएसपी अंगुर जिसीसहित प्रहरी अधिकारीको भूमिका माथि छानबिन गर्ने जिम्मेवारी छ ।

‘कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित अनुसन्धानमा संलग्न सबैको भूमिकामाथि छानबिन गर्न उत्तम सुवेदी साबको नेतृत्वमा टोली गठन भएको हो’, प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने । उनका अनुसार टोलीले घटना भन्दा पनि घटनाको छानबिनमा भएको लापरबाहीबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउने छ ।