पत्रकार सम्मेलनमै धरधरी रोए निर्मलाका बुवा - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

पत्रकार सम्मेलनमै धरधरी रोए निर्मलाका बुवा



काठमाडौं –बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवाआमा न्याय खोज्दै काठमाडौं आइपुगेका छन् ।

कञ्चपुरका केही अधिकारकर्मीसहित काठमाडौं आइपुगेका पन्त दम्पत्ति बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भए ।

पत्रकार सम्मेलनमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन् ।

न्याय दिन नसक्ने भए ‘हामी सक्दैनौं’ भनेर आफूलाई पनि गोली ठोकिदिन उनको आग्रह छ ।

यस्तै बुवा यज्ञराज पन्त आफ्नो छोरीको हत्या भएको घटनाबारे सुनाउने क्रममा पत्रकार सम्मेलनमै रोए ।

छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै होला भनेको प्रस‌ंग सुनाउँदै गर्दा उनी सम्हालिन सकेनन् ।

रुमालले आँसु पुछ्दै उनले थपे– ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई स‌ंरक्षण गरिरहेको छ ।’

उनले घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गरे ।

‘प्रधानमन्त्रीज्यूले बोल्नुभएको एउटा कुरा पनि सही छैन,’ उनले भने– ‘मलाई न्याय दिलाउनुपर्‍यो जसरी भए पनि ।’

निर्मलाका आमाबावुसँगै आएका स्थानीय अधिकारकर्मीहरूले न्याय नपाई कञ्चनपुर नफर्किने बताए ।