वास्तवमा निर्मला 'हत्याकाण्ड' थियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वास्तवमा निर्मला ‘हत्याकाण्ड’ थियो



-बनिता खनाल 

बलात्कृत भएर हत्या हुनु र पिटपाट भएर हत्या हुनु, यी दुई केसमा फरक के छ ? हत्या त हत्या न हो। ज्यान नै गैसकेपछी के-को बलात्कृत के को ‘चोखो’ ? अनि कुटपिट गरी मारिनु र बलात्कृत भई बाचिनुमा, कुन रोज्नुहुन्छ ? बलात्कृत भए पछि मर्नु बेस होर? होइन शायद, बलात्कार भन्दा त हत्या जघन्य होइन र?

यहाँ कति मान्छे हत्याको सिकार हुन्छन्? कसैले हिसाब राखेको छ ? कति हत्यारा सजाय नपाईकन ढुक्क जीवन बचेका छन्? कसैको ध्यान छ ? किन हत्यारा विरुद्ध अभियान हुँदैन ? अभियान चलाउन बलात्कृत नै हुनु पर्छ ? अनि जिउँदा बलात्कृत महिलाका न्यायका लागी प्रदर्शन किन हुँदैनन्? किन सधैँ बलात्कृत भई ज्यान गुमाएकाहरूको पक्षमा मात्र न्यायका लागि जुलुस निकालिन्छ ? यस बारे कहिल्यै सोच्नुभएको छ?
जहाँ सम्म मैले नेपाली समाजलाई बुझेको छु, आज सम्म पनि कुनै महिलाले खुलेर “म बलात्कृत भए” भन्ने वातावरण बनेको छैन ।

ठुलै घाउ चोट नलागी वा हत्या नभई बलात्कारका समाचार बाहिर आउँदैनन् । हालै भएको “निर्मला बलात्कार काण्ड” वास्तवमा “निर्मला हत्या काण्ड” थियो। बलात्कार पश्चात निर्मला जिउँदै बचेकी भए शायद यस घटनाले यती धेरै चर्चा पाउने थिएन । त्यै पनि किन यो हत्याको विरुद्ध बोल्दा, जनता “बलात्कारलाई प्राथमिकता” दिएर बोलिरहेछन् ? म अचम्म पर्छु। के कसैको ज्यान जानु भन्दा उसको बलात्कार हुनु ठुलो कुरा हो? के हामी बलात्कृत महिलालाई सजिलै बाच्ने समाज दिन सक्दैनौ ? के न्याय पाउन मर्नै पर्छ ? अनि ज्यान गुमेको मुद्दालाई बलात्कार विरुद्धको मुद्दा बनाउनु जरुरी छ ?

म पनि एक महिला हुँ, म माथि कुनै दिन यस्तो आपत्ति अाइपरेमा म ज्यान गुमाउन चाहन्न, बरु बलात्कृत भएर भए नि बाँच्न चाहन्छु । मलाई धेरै नै मानसिक तनाव भएमा म बलात्कारी विरुद्ध मुद्दा हाल्छु, घर परिवारको साथ पाएमा, म शायद त्यस घटनालाई नराम्रो अनुभवका रूपमा बिर्सिदिन्छु ।

मैले आज सम्म बलात्कृत महिला आफैले आफ्नो लागि न्यायको माग राख्दै जुलुसको नेतृत्व गरेको देखेकी छैन । जति पनि आवाज उठ्छन् सबै बलात्कार नभएका महिला र पुरुषका उठ्छन्। अरूको न्यायका लागि लड्नु राम्रो कुरा हो तर कति जानाको लागि लड्ने ? मरिसकेकाको लागि न्याय भन्दा पनि नमरेका बलात्कृतहरूले आवाज उठाउन सक्ने समाज हामीले बनाउन किन सकेनौ ? बेचिएकी महिला होस् या बलात्कृत महिला, कुनै पनि मिडियामा आउँदा किन मुख छोपेर आउन बाध्य छन् ? किन उनीहरू समाजमा आँखा जुधाएर न्याय माग्न सक्दैनन् ? मलाई यस्ता प्रश्न ले सधैँ पिरोल्छ । म चाहन्छु यहाँ प्रत्येक बलात्कृत महिला ले “हो म बलात्कृत भए, बलात्कारी लाई सजाय देऊ र मलाई इज्जत साथ पहिलेको जस्तै बाँच्न देऊ” भनी आन्दोलन गरेको हेर्न चाहन्छु ।

अब रह्यो नाबालिकाहरूको बलात्कारका घटना, मलाई याद भए अनुसार, यस्ता बलात्कार आफ्नै नातेदारले गरेको बढी देखिन्छ । जब छोरी मान्छे आफ्नै घर भित्र नातेदार माझ सुरक्षित छैन भने, सडकमा सरकारको विरुद्ध नारा लगाउनु व्यर्थ छ ।