निर्मला काण्डमा फेरी फसे गृहमन्त्री बादल : तत्काल राजिनामा दिन माग

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले चर्को आलोचना गरेका छन् । गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण नौलो विषय नभएको, यस्ता घटनाहरु विगतमा पनि भएका र आगामी दिनमा पनि हुन सक्ने अभिव्यक्ति दिएपछि कांग्रेसका युवा नेताहरु थापाविरुद्ध खनिएका हुन् ।
मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका गृहमन्त्री थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना नेपालका लागि नौलो घटना नभएको बताएका थिए । “निर्मला प्रकरण नौलो होइन । हिजो पनि थियो, अहिले पनि भइरहेका छन् र भोलि पनि हुन सक्छन्,” उनको भनाइ थियो ।
गृहमन्त्री थापाले एक वर्षअघि कञ्चनपुरको महेन्द्रनगरमा भएको उक्त घटनालाई हलुका ढंगबाट लिएको भन्दै कांग्रेसका प्रवक्तासमेत रहेका युवा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीप्रति पनि आपत्ति जनाएका छन् । उनले गृहमन्त्रीको अभिव्यक्ति मन्त्रीको मात्रै हो कि सरकारकै धारणा हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, “निर्मला प्रकरणको एक वर्ष साउन १० मा पुग्नै लाग्दा सरकारसँग देश गम्भीर जवाफको अपेक्षा गर्छ । तर, गृहमन्त्रीजी भन्नुहुन्छ– यस्तो विगतमा पनि भयो, भोलि पनि हुन्छ । सम्माननीय @PM_Nepal ! यो गैरजिम्मेवार जवाफ एक मन्त्रीको मात्रै कि सरकारको पनि धारणा यही हो ?”
कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेलले गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणका बारेमा दिएको अभिव्यक्तिले मुलुकमा नैतिकता र जिम्मेवारीको खडेरी परेको टिप्पणी गरेका छन् । उनले नेपाली चेलीहरुलाई बलात्कारीहरुबाट जोगाउन नसक्ने व्यक्तिले पदमा बसिरहनुभएको औचित्य नै नभएको बताएका छन् ।
नेता पौडेलले ट्विट गर्दै भनेका छन्, “गृहमन्त्री जस्तो जिम्मेवार व्यक्ति जसले शान्ति सुरक्षाको नेतृत्व गरेको हुन्छ । त्यो तहबाट निर्मला काण्ड भविष्यमा पनि घट्न सक्छ भन्ने अभिव्यक्ति आउनु अत्यन्त दुखद हो । निर्मलाहरूलाई जोगाउन नसक्ने गृहमन्त्री पदमा रहिरहनुको अर्थ के हुन्छ र ? नैतिकता र जिम्मेदारी दुवैको खडेरी परेको छ ।”
यस्तै कांग्रेसका अर्का युवा नेता उदय शमशेर राणाले पनि गृहमन्त्री थापाको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । उनले प्रधानमन्त्री ओलीले केही महिना अगाडि ‘अब यो देशमा कोही पनि निर्मला पन्त हुनुपर्ने छैन’ भनेको अभिव्यक्ति स्मरण गराउँदै गृह प्रशासनको लाचारीपनको कारण बुझ्न नसकिएको उल्लेख गरेका छन् ।
एउटै दलको सरकार हुँदा पनि प्रधानमन्त्रीले आगामी दिनमा घटना नदोहोरिने आश्वासन दिने र गृहमन्त्रीले फेरि पनि निर्मला हत्या प्रकरण जस्ता घटना हुन सक्छन् भनेर सूचना दिने गरेको बताएका छन् ।
“गृह प्रशाशनको लाचारीपनको कारण बुझ्न सकिन । सम्माननीय @PM_Nepal ज्यू, तपाईंले अब यो देशमा कोही पनि निर्मला पन्त हुनुपर्ने छैन भन्नुहुन्थ्यो, तपार्इंको गृहमन्त्री त अझै हुने छन् भन्नुहुन्छ । एउटै दल र एउटै सरकार तर एकातिर आश्वासन र अर्कातिर सतर्क हुन सूचना !,” राणाले ट्विट गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला गत वर्ष साउन ११ गते घर नजिकैको खोला किनारमा मृत फेला परेकी थिइन् । उनलाई बलात्कारपछि हत्या गरेर खोला किनारामा फालेर गएको व्यक्तिलाई सरकारले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन ।

