निर्मलाको पक्षमा कन्चनपुरमा फेरि आन्दोलन, थाल ठटाउँदै महिला उत्रिए सडकमा
कन्चनपुर, भदौ २८ । १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन भन्दै कन्चनपुरका महिलाहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् ।
घटनालगत्तै प्रदर्शनमा उत्रिएका आमा समूहका महिलाहरुले निर्मलाको हत्यारा पत्ता लगाउन दबाबस्वरुप हातमा थाल बजाउँदै प्रदर्शन गरेका हुन् ।
१ नम्बर गल्लीबाट निस्किएको विरोधर्याली महेन्द्रनगर बजारको परिक्रमा गर्दै मदनचोकमा गएर धर्नामा परिणत भएको थियो ।
निर्मलाको न्यायका लागि गठित दबाबमूलक संघर्ष समितिले घटनाको लामो समय भइसक्दा पनि हत्यारा पत्ता नलागेपछि शान्तिपूर्ण आन्दोलनलाई फेरि निरन्तरता दिएको जनाएको छ ।
बलात्कारपछि हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग उनीहरुले गरेका छन् ।
कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीकी पन्त गत साउन १० गते घरबाट साथीको घर जान निस्किएकी थिइन् । त्यसपछि आफ्नो घर नफर्किएकी उनको शव हत्या गरेर फालिएको अवस्थामा साउन ११ गते स्थानीय उखुबारीमा फेलापरेको थियो ।