निर्मल भट्टराई नेतृत्वको नयाँं शक्ति अभियान सहित ६ हजार १ सय २ जना एमाले प्रवेश - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

निर्मल भट्टराई नेतृत्वको नयाँं शक्ति अभियान सहित ६ हजार १ सय २ जना एमाले प्रवेश



हिमाल पोष्ट\ काठमाडौं, वैशाख ५

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट अलग भएर खोलिएको निर्मल भट्टराई नेतृत्वको नयाँं शक्ति अभियान एमालेमा प्रवेश गरेको छ । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली लगायतका नेताहरुसँगको छलफलपछि निर्मल भट्टराई संगै नयाँं शक्ति अभियान केन्द्रीय समितिका सबै सदस्य एमालेमै प्रवेश गरेका हुन् ।

मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रमका बीच उनीहरुलाई एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले खादा तथा माला लगाएर स्वागत गरेका थिए। भट्टराईसँगै डोटीका पूर्वसांसद मोहन बम, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका केन्द्रीय सदस्यहरु ओझा, अशोकराज ढुंगेल, रामराज मंग्राती लगायत एमालेमा प्रवेश गरेका छन् ।

सो कार्यक्रममा भट्टराईले देश भरी छरिएर रहेका अभियानका छ हजार एक सय दुई पार्टी सदस्यको विवरण पनि लिखित रुपमा गौतमलाई बुझाएका थिए। साथै उनले आफुले माओवादीमा गएर नकारात्मक सकारात्मक दुबै कुराको अनुभुति गरेको बताए।

मंगलबार हुने कार्यक्रममा करिब चार सय नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने भट्टराईले दैनिक नेपाललाई जानकारी दिए । बाँकीको हकमा भने जिल्ला जिल्लामा कार्यक्रम गरेर एमालेमा प्रवेश गर्ने उनले बताए । उनका अनुसार, नवप्रवेशीहरुलाई इतिहास, योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिने समझदारी भएको छ ।

यसअघि झलनाथ खनाल पार्टी अध्यक्ष रहेका बेला स्वकीय सचिव रहेका निर्मल भट्टराई प्रचण्ड नेतृत्वको तत्कालिन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए । बाबुराम भट्टराईले माओवादी छाडेपछि उनी भट्टराईसँगै नयाँ शक्तिमा गएका थिए । तर, नयाँ शक्तिमा बाबुरामसँग कुरा नमिलेपछि उनी त्यहाँबाट बाहिरिएका हुन् ।