कार्यदल बैठकमा निरिह देखिए माधव नेपाल समूहका नेताहरू
काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्नका लागि गठित कार्यदलको शुक्रबार बसेको बैठक सकिएको छ । बैठक सोचेजस्तो सौहार्द नबनेको एक नेताले बताएका छन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरबारे गम्भीर रूपमा कुरा उठेको बताइएको छ । सिंहदरबारमा बसेको बैठक अर्को मिति तय गरेर फेरि बस्नेगरी सकिएको बताइएको छ।
स्रोतका अनुसार बैठकमा नेता माधवकुमार नेपाल पक्षसँग ओली समुहका नेताहरू आक्रामक रूपमा प्रस्तुत भएका थिए । प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको विषय उनीहरूले सशक्तरुपमा उठाउँदा नेपाल समुहका नेताहरू निरिह देखिएका थिए ।
ओली पक्षका नेताहरू आक्रामक देखिएपछि नेपाल पक्षबाट कार्यदलका रहेका नेताहरुले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको प्रतिक्रिया दिएको बैठकमा सहभागी एक नेताले बताए ।
आजको बैठकमा राष्ट्रिय सभामा बादललाई हराएको र देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको बिषयले माहोल तातेको थियो ।