निर्दोष प्रहरीलाई साढे १३ वर्ष जेल ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्दोष प्रहरीलाई साढे १३ वर्ष जेल !



काठमाडौं । बलात्कार र हत्याको झूटो आरोपमा पक्राउ परेका एक प्रहरी जवान साढे १३ वर्षपछि निर्दोष प्रमाणित भएका छन् । गोंगबु बसपार्कमा डियुटीमै खटिएका बेला पक्राउ गरिएका प्रहरी जवान मदननारायण श्रेष्ठलाई सर्वोच्च अदालतले निर्दोष ठहर्याएको हो।

२०६० कात्तिक ८ गते गोंगबुको न्यु लेसपार गेस्ट हाउसको १०६ नम्बर कोठामा ३१ वर्षीया रीता लामा मोक्तानको शव भेटिन्छ। प्रहरीले छानबिन थाल्छ। मृतकका पति कृष्ण लामाले प्रहरी जवान श्रेष्ठ र अर्का व्यक्ति विष्णु सिलवालका नाममा किटानी जाहेरी दर्ता गराउँछन्। जाहेरीमा उनीहरूले रीतालाई अघिल्लो राति गाउँले दोहोरी साँझ रेस्टुरेन्टमा लगी बियर खुवाएको र त्यहाँबाट गेस्ट हाउसमा लगी बलात्कार र हत्या गरेको दाबी गरिएको हुन्छ।

अनुसन्धानका क्रममा गोंगबु प्रहरीले गेस्टहाउसमा काम गर्ने १२ वर्षीय सरोज लामालाई केरकार गर्छ। गेस्टहाउसमा रुम बुकिङ गर्ने यिनै हुन् भनी श्रेष्ठका नाममा सनाखतको कागज गराइदिन्छ।

जाहेरीमा उल्लिखित सिलवाल भने फरार हुन्छन्। प्रहरीले आफ्ना जवान श्रेष्ठलाई यातना दिई ‘म, विष्णु सिलवाल र रीता लामाले दोहोरी रेस्टुरेन्टमा बियर खाएको र पछि गेस्टहाउसमा लगेर बलात्कार गरी आफूले हत्या गरेको हुँ’ भनी लेखिएको बयानमा जबर्जस्ती सही गराउँछ।

श्रेष्ठले जिल्ला अदालतमा ‘मलाई कुटपिट गरी बयान तथा सनाखतको कागजमा सही गराएको हो। मैले कसैलाई मारेको छैन। मलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएकाले प्रहरी उपरीक्षकसमेत उपर क्षतिपूर्ति दिलाई विभागीय कारबाही गरिपाऊँ’ भनी बयान दिन्छन्।

प्रहरीको दाबीअनुसार गेस्टहाउस सञ्चालक वसन्तबहादुर थापाले समेत प्रहरी जवान श्रेष्ठको नाम पोलेका थिए। तर अदालतमा उनले ‘मेरो गेस्ट हाउसमा घटना भएको रहेछ। भोलिपल्ट मात्रै थाहा पाए। कसले मारेको हो, यकिनसाथ भन्न सक्दिन’ भनी बकपत्र गर्छन्।

सर्वोच्च अदालतले श्रेष्ठलाई आफ्नो विरुद्धमा बयान गर्न चरम शारिरिक तथा मानसिक यातना दिएको पुष्टि भएको भन्दै विधिविज्ञान प्रयोगशालाले समेत उनको हस्ताक्षर नमिलेको भनेकाले दोषी ठहर गर्न नमिल्ने ठम्याएको हो।

साक्षी सरोज लामाले भनेकै आधारमा गरिएको बकपत्रलाई आधार मान्न नहुने भन्दै सर्वोच्चले अन्य रूपले प्रमाणित नभएसम्म सुनेको कुरा प्रमाणका रूपमा स्विकार्य नहुने व्याख्या गर्‍यो। यो फैसला हुँदा मदननारायण १३ वर्ष ६ महिना ३ दिन जेल बसिसकेका थिए। गत वर्ष फैसला भएको मुद्दाको पूर्णपाठ सर्वोच्चले हालै तयार पारेको कान्तिपुरमा खबर छ ।