निर्वाचनको विकल्प छैनः नेता नेम्वाङ - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

निर्वाचनको विकल्प छैनः नेता नेम्वाङ



हिमाल पोष्ट / काँकडभिट्टा (झापा), २७ मङ्सिर । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले मुलुकको सङ्कटलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान तथा २९ आँै लक्ष्मी पाण्डेको स्मृति दिवसका उपलक्ष्यमा नेकपा एमाले झापा क्षेत्र नं ३ द्वारा आज पृथ्वीनगरमा आयोजित सभामा उहाँले संसद्भित्र प्रवेश गरेको संविधान संशोधनको मुद्दा अनावश्यक भएको टिप्पणी गर्नुभयो ।

नेता नेम्वाङले सत्तरी वर्षको लामो आन्दोलनपश्चात जनताले उपलब्धिका रुपमा प्राप्त गरेका संविधानको कार्यान्वयन गर्नु नै अहिलेको राष्ट्रिय आवश्यकता हो भन्दै संविधान कार्यान्वयनका लागि मुलुकमा तिन वटै तहको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्व सभामुख समेत रहनुभएका नेता नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर बनाएको संविधान कार्यान्वयनमा प्रमुख दलबीच एकता जरुरी भएको बताउँदै मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्न संविधान संशोधन अपरिहार्य नभई कार्यान्वयन प्रमुख भएको धारणा व्यक्त गर्नुभयो ।

“जनतामैत्री संविधान बनाएकाले राज्यको हरेक तहमा हरेक जातजाति, भाषाभाषी एवम् धर्मावलम्बीले समानुपातिक सहभागिता हुँदै गरेको छ,” उहाँले भन्नुभयो – यो संविधान आम नेपाली जनताको पक्षमा छ ।” रासस