निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दै डा केसीले तोडे अनसन - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दै डा केसीले तोडे अनसन



काठमाडौं – डा. गोविन्द केसीले एकतर्फी रूपमा अनशन तोडेका छन्।

शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन आयोजन गरी अनशन तोडेका घोषणा गरेका हुन्। उनलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, दमननाथ ढुंगाना र अस्पतालमा सरसफाइ गर्ने कर्मचारीले जुस खुवाएर अनशन तोडाएका हुन्।

उनले नागरिक समाजका अगुवाहरूको आग्रहमा १६ औँ अनशन २४ दिनका दिन तोडेका हुन्। चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै केसीले पुस २५ गते इलाम पुगेर अनशन सुरु गरेका थिए। उनको माग र कांग्रेसको विरोधका बाबजुत सरकारले चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित गरेपछि अनशन तोड्न चौतर्फी दबाब परेको थियो। उनले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीमा इमान र विश्वश्नीयताको खडेरी रहेको आरोप लगाएका छन्।

उनले आफ्नो अनशन सरकारको बदनियतका कारण अधुरो रहन गएको बताएका छन्। उनले सुशासन र बाँकी कार्यभार पूरा गर्न निरन्तर र फरक रूपमा लड्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु’, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि हामीसँग यस अगाडि भएको सम्झौताअनुसार ऐन सच्याउन सरकारलाई समय दिंदै सो ऐन नसच्याइएमा तथा अहिलेसम्मका उपलब्धि उल्टाउन खोजिएमा निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दछु।’