‘निपा’ भाइरसको जोखिममा नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘निपा’ भाइरसको जोखिममा नेपाल



नयाँ पत्रिका : काठमाडौं । नेपाल ‘निपा’ भाइरसको जोखिममा रहेको देखिएको छ । ६ वर्षदेखि चमेरोमा गरिएको अनुसन्धानले नेपाल पनि ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको पाइएको हो । अनुसन्धानकर्ताका अनुसार हालसम्म नेपालमा ‘निपा’ भाइरस पत्ता लागेको छैन । दक्षिण एसियामा अहिलेसम्म भारत र बंगलादेशमा मात्र ‘निपा’ भाइरस देखिएको छ ।

निपा भाइरस फैलाउने चमेरो

६ वर्षदेखि सिएमडिएन नामक संस्थाले प्रिडिक्ट नेपाल र क्यालिफोर्निया विश्वविद्यालयसँग मिलेर नेपालका विभिन्न स्थानमा चमेरोमा अध्ययन अनुसन्धान गरिरहेका छन् । नेपालका चमेरोमा देखिएको भाइरसको प्रारम्भिक रिपोर्ट नेपाल सरकारलाई बुझाएको सिएमडिएनका कार्यकारी निर्देशक डा. दिवेश कर्माचार्यले जानकारी दिए । चिकित्सकहरूका अनुसार ‘निपा’ भाइरस मलेसियामा पहिलोपटक सन् १९९८ मा देखिएको थियो । त्यसयता छिमेकी देश भारत र बंगलादेशमा समेत देखिएको छ ।

‘निपा’ भाइरस फैलाउने टेरोपस जातको चमेरो नेपालमा पनि रहेको अनुसन्धानका क्रममा फेला परेको छ । ‘हामीले लामो समयदेखि जनावरबाट मानिसमा सर्न सक्ने गम्भीर प्रकारका भाइरस (इबोला, निपा, एचआइभी)मा अनुसन्धान गर्दै आएका छौँ । ६ वर्षदेखि चमेरोमा देखिने ‘निपा’ भाइरसमा केन्द्रित भएका छौं,’ डा. कर्माचार्यले भने, ‘हाल नदेखिए पनि नेपालमा ‘निपा’ भाइरस संक्रमित हुने सम्भावना प्रबल छ ।’

दरबारमार्ग र मकवानपुर उच्च जोखिममा
संस्थाले काठमाडौंको दरबारमार्ग र मकवानपुर जिल्लाको सिलिंगेमा बसोबास गर्ने चेपाङ बस्तीमा गएर चमेरोको अनुसन्धान गरेको थियो । चेपाङ समुदायले चमेरो खाने गरेको अनुसन्धानमा देखिएको छ । चमेरो खाने र चमेरोले दिसा गरेको स्थानमा बढी घुलमिल भएमा ‘निपा’ भाइरस सर्ने गर्छ । कर्माचार्यले चमेरोबाट मानिसमा सर्ने र मानिसबाट महामारीको रूप लिने भएकाले सुरक्षित रहन आग्रहसमेत गरे । उनका अनुसार चमेरो र मानिस रहेका ठाउँ उच्च जोखिममा देखिएको छ ।आजको नयाँ पत्रीकामाा खबर छ ।