भारतबाट फर्केलगत्तै निधिको अर्थपूर्ण सक्रियता: पार्टीलाई छैन जानकारी
काठमाडौं । भारत पुगेर फर्किएका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो सक्रियता झनै बढाएका छन्। एकाएक भारत पुगेको भन्दै शंकास्पद चर्चा चलिरहेकै बेला उनी भारतबाट फर्किएलगत्तै सक्रियता बढाउनुलाई अर्थपूर्ण मानिएको छ ।
भारतमा अमेरिकी विदेशमन्त्रीको भ्रमण भएकै समयमा पार्टीलाई समेत जानकारी नगराई भारत पुगेका निधि शुक्रबार साँझ नेपाल फर्किएका थिए । उनी भारतबाट फर्केलगत्तै आफूनिकट नेताहरूलाई छुट्टाछुट्टै भेटिरहेका छन् । निधिले उनकै निवासमा नेताहरूलाई बोलाउंदै भेट्दै गरेका छन् ।
अन्य नेताहरूलाई गोप्य भेट्दै गरेका निधिले शनिबार दिउसो भने चाक्सीबारीमा दुई नेतासंग गरेको भेट भने सार्वजनिक गरेका थिए । चाक्सीबारीमा उपसभापति निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गरेका थिए । त्यहाँ कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएको भन्दै पार्टीमा प्रभावशाली मानिने उनीहरूको भेट भएको थियो ।
नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिईएको छ ।
उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।
कांग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उनीहरू तीनैजनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आएका छन् । यसअघि पनि उनीहरूले एकार्काको निवासमा पालैपालो भेटवार्ता गरेका थिए ।
उनको सक्रियता, भारत भ्रमण र भेटघाटबारे पार्टीलाई कुनै जानकारी नभएको एक नेताले बताएका छन् ।