निधिको पनि उही पारा: भाइसहित आसेपासेलाई बनाए पदाधिकारी - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

निधिको पनि उही पारा: भाइसहित आसेपासेलाई बनाए पदाधिकारी



जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषामा आफ्नै भाइलाई जबर्जस्ती पार्टीको क्षेत्रीय सभापति बनाएको आरोप लागेको छ ।

पार्टीको जारी १४ औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट उपसभापति निधिले आइतबार आफ्नो भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापतिसहित अन्य पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि बनाएपछि पार्टीकै कार्यकर्ताहरूले विरोध जनाउँदै प्रदर्शन गरेका छन् ।

क्षेत्र नम्बर ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले आजसम्म इतिहासमै नभएको काम उपसभापति निधिले पार्टीको विधान र निर्वाचन प्रक्रिया मिचेर आफ्ना भाइ धीरेन्द्रलाई सभापति र श्रीमती अनामिका निधिलाई महाधिवेशन प्रतिनिधिसहित आसेपासेलाई चयन गरेको आरोप लगाए ।

‘उपसभापति निधिले एकलौटी रूपमा मनोमानी गर्दै निर्वाचनको कुनै प्रक्रिया नै नअपनाइ उद्घाटन सत्रको मञ्चबाटै आफू अनुकूलका व्यक्तिहरूको नाम घोषणा गरेकोमा हाम्रो आपति रहेको छ हामी यसको विरोध गर्दै पार्टी पद्धतिअनुसार कानुनी प्रक्रियामा जानेछौं,’ उनले भने । यस्तै अर्का महाधिवेशन प्रतिनिधिका आकांक्षी शम्भुनाथ झाले पनि उपसभापति निधिले पदीय आडमा सुरक्षाकर्मी लगाएर आफूअनुकूल क्षेत्रीय समिति पदाधिकारी चयन गरेको आरोप लगाए ।

‘मतदानको समयावधि ५ बजे थियो । तर प्रमुख अतिथिको रूपमा सहभागी उपसभापति निधिले अलोकतान्त्रिक विधिबाट प्रक्रियालाई मिच्दै उद्घाटन सत्रबाटै मन्तव्य दिने क्रम अन्य प्रक्रिया पछि गर्ने भनी पदाधिकारीहरूको नाम घोषणा गरिएको थियो,’ उनले भने, ‘हामीले विरोध जनाउँदा प्रहरी लगाएर भीडलाई तितर बितर पारी निर्वाचन अधिकृतलाई त्यहाँबाट लिएर गएको हो ।’