बिमलेन्द्र निधिलाई सभापति बनाउन मिनेन्द्र रिजालले गरे समर्थन - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बिमलेन्द्र निधिलाई सभापति बनाउन मिनेन्द्र रिजालले गरे समर्थन



काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले विमलेन्द्र निधि सभापतिको उमेदवार बन्दा कांग्रेसको हित हुने र गुटबन्दी पनि हट्ने बताएका छन् । १४औँ महाधिवेशनमा सभापतिको दाबेदारका रूपमा रहेका निधि सभापति भएमा पार्टीमा लामो समयदेखि रहेको गुटबन्दी अन्त्य हुने पनि रिजालले बताए ।

बुधबार ट्वीट गर्दै रिजालले उपसभापति निधि अब सभापति उम्मेद्वार हुँदा पार्टीभित्र गुटको चर्को विभाजन नरहने उल्लेख गरेका हुन्।

‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन् र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहँदैन,’ रिजालले भनेका छन्, ‘त्यो सकारात्मक हो।’

त्यस्तै उनले हिमाल साप्ताहिकसँगको अन्तर्वार्तामा उनले निधिको उम्मेदवारीलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

उनले भनेका छन्, ‘यदि उहाँ (निधि) सभापतिको उम्मेद्वार हुनुभयो भने एक त मधेशी समुदायका नेताको नेतृत्व कांग्रेसले पाउँने सम्भावना रहन्छ। यो आफैंमा ठूलो कुरा हो। निधी उम्मेद्वार हुँदा सभापती पदमा दुई भन्दा बढी उम्मेद्वार हुन्छन् र यसले पार्टीमा रहेको दुई पक्षिय गुटबन्दीको अन्त्य हुनेछ।’

उनले अगाडी भनेका छन्,’ निधिजी मधेशी समुदायको मात्रै नेता हो भनेर चाहिं सोच्नुहुँदैन, निधिजी सबैको नेता हो। तर, मधेशी समुदायको नेता पार्टी सभापतिको उम्मेद्वार हुँदा सन्देश पनि राम्रो जान्छ। उहाँ सबै नेपालीलाई बलियो नेतृत्व दिन सक्ने नेता हो।’

उनले अन्तर्वार्तामा महाधिवेशनको मिति नै त ठूलो कुरा नभएको भन्दै यही अवस्थामा महाधिवेशन गर्न केही कठिनाइ रहेको बताएका छन् । अहिलेको प्रमुख विषय, विगतदेखिको अनुभवबाट पनि देखिएको विषय क्रियाशील सदस्यताको विवाद भएको भन्दै रिजालले भनेका छन्, ‘क्रियाशील सदस्यता प्रमाणित केन्द्रीय सभापतिको हस्ताक्षरबाट हुन्छ। त्यो प्रक्रिया टुंगो लगाएर, त्यसपछि डेढ महीनादेखि बढीमा दुई महीनाभित्र वडादेखि केन्द्रको महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो। त्यही भएर क्रियाशील सदस्यतालाई टुंगो लगाउने प्रक्रियाबारे सहमति भएको छ। यो विषय विवादरहित रुपमा टुंगियो भने महाधिवेशनको बाँकी कार्यतालिका सहज बनाउन सकिन्छ।’