राजविराज घटनालाई लिएर मानव अधिकार आयोगद्वारा संवैधानिक कार्यादेशलाई सम्मान गर्न आग्रह - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

राजविराज घटनालाई लिएर मानव अधिकार आयोगद्वारा संवैधानिक कार्यादेशलाई सम्मान गर्न आग्रह



राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक कार्यादेशलाई सम्मान गर्न सबैलाई आग्रह गरेको छ । सप्तरीको राजविराजमा यही जेठ २८ गते निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको सहभागितामा हुन लागेको कार्यक्रम विथोल्ने गरी भएकोे घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको बताउँदै आयोगले संवैधानिक कार्यादेशलाई सम्मान गर्न सबैलाई आग्रह गरेको हो ।

सोमबार एक प्रेश विज्ञप्ती जारी गर्दै आयोगले आफ्ना विचारहरु राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एक स्वतन्त्र संवैधानिक निकायका प्रमुखलाई कालो झण्डा देखाउने तथा निर्धारित कार्यक्रम विथोल्ने जस्ता कार्यबाट पारस्परिक सद्भाव, लोकतन्त्रको अभ्यास र मानव अधिकारको सुनिश्चिततामा बल पुग्ने नदेखीएकाले कुनै पनि संवैधानिक निकायलाई संवैधानिक कार्यादेश अनुसार स्वतन्त्र र निष्पक्ष रूपमा कार्य गर्न दिने वातावरणको सिर्जना गर्नु सम्बन्धित सबै पक्षको कर्तव्य हुन आउने बताएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ ‘ लोकतन्त्र र मानव अधिकारको जग निर्वाचन नै भएको हुँदा निर्वाचनको वातावरण वनाउन तथा निर्वाचन विरोधी क्रियाकलाप नगर्न, नगराउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । आफ्ना फरक अभिमतलाई संविधान र कानूनसम्मत ढङ्गबाट अभिव्यक्त गर्न तथा फरक मतको सम्मान गर्नुमा नै मावन अधिकारको मर्म अन्तर्निहित रहने भएबाट वार्ता र संवादको ढोका खुल्ला राख्न समेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।’