नेइमारले भने: विश्वकपमा म आउँदै छु
ब्राजिलका स्टार खेलाडी नेइमारले आफू विश्वकप फुटबलका लागि फिट हुनेमा आशावादी रहेको बताएका छन् ।
पिएसजीका नेइमार फ्रेन्च लिग वान अन्तर्गतको खेलमा खुट्टामा चोट लागेपछि मैदान बाहिर छन् । सल्यक्रियापछि आफूलाई आराममा रहेका नेइमार गएको फेब्रुअरी २५ पछि मैदानमा देखिएका छैनन् ।
नेइमारले आफू रिकभर भइरहेको र विश्वकपमा फिट हुने बताएका छन् । आउँदो मे १७ देखि प्रशिक्षणमा फर्किने उनको भनाई छ ।
ब्राजिलले रुसमा हुने विश्वकप फुटबलमा आफ्नो पहिलो खेलमा आउँदो जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ । नेइमार त्यसको एक महिनाअघि मैदान आउने अपेक्षा छ ।
उनले भनेका छन्, ‘आशा छ म विश्वकपमा उच्च लयका साथ आउने छु ।’ नेइमार यो सिजनको सुरुमा विश्व कीर्तिमान मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका थिए । उनले चोटग्रस्त हुनुअघिसम्म पिएसजीका लागि २५ गोल र १६ गोलका लागि सहयोग गरेका थिए ।
साओ पाउलोमा भएको पत्रकार सम्मेलनमा नेइमारले भने, ‘मे १७ मा अन्तिम स्वास्थ्य परीक्षण हुनेछ र त्यसपछि म खेल्नका लागि स्वतन्त्र हुन्छु । गएको हप्ता भएको परीक्षणमा राम्रो देखिएको उनले बताए । तीब्र गतिमा सुधार भइरहेको उनले जानकारी दिए ।
अहिले हरेक दिन उपचार भइरहेको र प्रशिक्षणमा फर्किएपछि कडा मेहनत गर्ने उनले बताएका छन् ।
नेइमारले घरेलु मैदानमा भएको सन् २०१४ को विश्वकपमा ब्राजिलबाट खेलेका थिए । पाँच पटकको विश्व विजेता ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । त्यो खेलमा मैदान चोटका कारण मैदान बाहिर थिए ।