‘नेयमार र रोनाल्डोबीच तालमेल’
(एजेन्सी)– नेयमार रियल म्याड्रिड गएको खण्डमा क्रिस्टियानो रोनाल्डोसँग खेल्न सहज हुने ब्राजिलका पूर्व महान खेलाडी रोनाल्डोले बताएका छन् । बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै नेयमारले क्लब छाड्न चाहेको चर्चा सुरु भएको थियो ।
कतिपयले नेयमारले बालोन डी ओर अवार्डमा दाबेदारी प्रस्तुत गर्नका लागि पनि रियल जानुपर्ने तर्क गर्दै आएका छन् । बार्सिलोनामा लियोन मेस्सीको छायाँमा परेका बताइएको नेयमार रियलमा जाँदा रोनाल्डोको छायाँमा पर्ने पनि कतिपयको भनाई छ ।
कतिपय सञ्चारमाध्यमले भने नेयमारले पेरिसमा सहज नमानेकोले अर्को सिजन क्लब छाड्न सक्ने अनुमान पनि गरेका छन् । यदि त्यस्तो भएका उनको गन्तव्य रियल हुने धेरैको विश्वास छ । रियल र बार्सिलोना दुवैबाट खेलेका ब्राजिलियन रोनाल्डोले नेयमारलाई रोनाल्डोसँग लय मिलाउन कठिन नहुने बताएका छन् ।
‘क्रिस्टियानो र नेयमारबीच तामेल हुनेछ,; रोनाल्डोले भने, ‘दुवै जना उत्कृष्ट खेलाडी हुन् । अलग भन्दासँगै हुँदा झन राम्रो हुन्छ । यदि कुनै समय नेयमारले पिएसजी छोड्ने मन बनाए भने रियल पनि उनलाई लान तयार हुनेछ ।’
तत्काल रियलले अन्य खेलाडी भित्राउने विषयमा पनि प्रयास गरेको छैन । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि ब्राजिलयन स्टारको समर्थक रहँदै आएका छन् र उनलाई भित्राउन इच्छुक रहेको बताइएको छ ।