नेइमार म्याड्रिड नजाने यस्तो छ कारण !
साओ पाउलो (एजेन्सी)– ब्राजिलका स्टार स्ट्राइकर नेइमारले रियल म्याड्रिडमा आवद्ध हुने आफ्नो कुनै मनसाय नभएको र स्पेनिस क्लबमा नफर्किने स्पष्ट पारेका छन्।
दुई साताअघि पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो क्लब स्थानान्तरण गर्दै इटालियन क्लब युभेन्ट्सतर्फ लागेपछि रियल म्याड्रिडमा मुख्य खेलाडीको खाँचो परेको छ। क्लबले रोनाल्डोको स्थानमा पदपूर्तीका लागि नेइमारलाई स्पेनिस क्लबमा फर्काउने अभियान सुरु गरेको थियो। तर, नेइमारले यसअघि नै म्याड्रिडको प्रस्ताव अस्विकार गरेका थिए। तर, उनको सम्भावित म्याड्रिड स्थानान्तरणलाई लिएर हल्ला सेलाएको छैन। यस्तो अवस्थामा नेइमारले आफ्ना ‘फ्यान’ लाई स्पष्ट पार्दै आफू रियल म्याड्रिड नजाने बताएका छन्।
नेइमार गत सिजन मात्र बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका थिए। स्पेनिस क्लबमा हुँदा आफ्ना कट्टर प्रतिद्वन्दी रहेका रोनाल्डोको युभेन्ट्स बसाइँ सफल हुने आशा गर्दै नेइमारले भने, ‘नयाँ करिअरको सुरुवातका लागि म उनलाई सफलताको शुभकामना दिन चाहन्छु।’
ब्राजिलको साओ पाउलोमा जोखिममा परेका युवाहरूको सहयोगार्थ आयोजना भएको फुटबल प्रतियोगितामा भाग लिएका नेइमारले विश्वकपमा भएको आलोचनाको विषयमा पनि प्रतिक्रिया दिएका थिए। उनले आफूप्रति हुने आलोचना नौलो नभएको भन्दै प्रतिक्रिया दिएँ, ‘म अभ्यस्त भइसकेको छुँ। मलाई थाहा छ, उनीहरू मेरो विषयमा के भन्छन।’