नेइमारको सपना नै टाट पल्टाउने त्यो खेल ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेइमारको सपना नै टाट पल्टाउने त्यो खेल !



रुसमा जारी वश्वकप फुटबलमा अप्रत्यासित नतिजा निस्कने क्रम रोकिएको छैन । पाँचपटकको विश्व विजेता ब्राजिल पछिल्लो पटक त्यस्तो नतिजाको शिकार बनेको छ ।

समूह चरण र अन्तिम १६ मा क्रमशः राम्रो गर्दै आएको र स्टार खेलाडीहरु पनि रहेकाले ब्राजिल विश्वकपमा सबैभन्दा बलियो दाबेदारका रुपमा उदायको थियो ।

अझ अन्तिम १६ पार गर्न धेरै बलिया भनिएका टिमले नसकेपछि ब्राजिललाई नै उपाधि दाबेदारको सूचिमा अघि राखिएको थियो । तर शुक्रबार राति ब्राजिलका लागि कजान एरिना घातक बन्यो ।

विश्वका सबैभन्दा महंगा खेलाडी नेइमारको टिमले महंगो हार बेहोर्‍यो, त्यो पनि आत्मघाती गोलका कारण । ब्राजिलको छैटौँ विश्पकपको सपना युरोपेली देश बेल्जियमले टुटायो । ब्राजिलमा जस्तै स्टार खेलाडीले भरिएको बेल्जियम विश्वकपको सबैभन्दा बलियो दाबेदार बनेर उदाएको छ ।

पहिलो हाफमा सम्हालिन नसक्दा ब्राजिल घर फर्किन बाध्य भयो । चार वर्षअघिको विश्वकपमा सेमिफाइनलसम्म पुगको ब्राजिल यसपटक क्वाटरफाइनलबाट बाहिरियो । १३ औँ मिनेटमा ब्राजिलका फर्नानडिन्होले आत्मघाती गोल गरे । त्यसपछि ३१ औँ मिनेटमा केविन डी ब्राउनले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २–० ले पछि परेको ब्राजिलका लागि ७६ औँ मिनेटमा रेनाटो अगुस्तोले एक गोल फर्काए तर यो गोल हार टार्नका लागि पर्याप्त थिएन ।

ब्राजिल घर फर्कियो । यसको अर्थ नेइमार पनि घर फर्किए । अन्तिम १६ बाट क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी तथा क्वाटरफाइनलबाट नेइमार घर फर्किए । अब रुस विश्वकपमा यो समयका स्टार खेलाडी रोनाल्डो, मेस्सी र नेइमारलाई देख्न पाइने छैन ।

यो विश्वकप भावनात्मक रुपमा पूरै ब्राजिलका लागि जति महत्वपूर्ण थियो, सायद नेइमारका लागि ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा नेइमार चोटग्रस्त भएर क्वाटरफाइनलपछि खेल्न सकेनन् । उनी बिनाको ब्राजिल जर्मनीसँग सेमिफाइनलमा इतिहासकै खराब हारको शिकार बन्यो ।

नेइमारले टुलुटुलु हेरिमात्रै रहे, गर्न सक्ने पनि केही थिएन । तर चार वर्षपछि उनी ब्राजिलको टिमलाई थप बलियो बनाएर विश्वकपको सपनासहित रुस पुगेका थिए ।

विश्वकप अघि मात्रै मैदान फर्किएका नेइमारले पहिलो खेलमा त्यति राम्रो गर्न सकेनन् । तर दोस्रो खेलमा उनी र फिलिप कोन्टिन्होको गोलबाट ब्राजिलले जित निकाल्यो । तेस्रो खेलमा पनि उनको प्रदर्शन सुधारिएको देखियो ।

अन्तिम १६ को खेलमा जित निकाल्दा नेइमारकै भूमिका महत्वपूर्ण रह्यो । यो सबैले नेइमार र उनीसँग जोडिएका सपनाहरु पूरा हुने लाइनमा गए जस्तो देखिएको थियो । तर उनको ब्राजिलियन सपनामा तगारो बनेर आयो बेल्जियम ।

कजानमा नेइमार निराश देखिन्थे । उनलाई सायद अब फेरि विश्वकपको सपना पूरा भएको हेर्नका लागि अर्को चार वर्ष पर्खिनु पर्ने भयो भन्ने लाग्दै गयो ।

आत्मघाती गोलपछि नै केही हल्लिएको नेइमारको मन डी ब्राउनको गोलपछि झन धर्कियो । तर रेनाटोको गोलले आश त दियो तर त्यो चाहिने जति भने भएन ।

मार्सेलो, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो, पाउलिन्हो, कोन्टिन्हो सबै सबै स्टार खेलाडी अनि उनीहरुका सपना नेइमारको जस्तै, बेल्जियमले टुटायो ।

यो विश्वकपमा नेइमारले चाहिने भन्दा धेरै अभिनय गरेको भनेर आलोचना भएको थियो । तर उनको खेल भने लोभलाग्दो थियो, जति नै आलोचना भए पनि नेइमार र उनको टिमको खेलले नलोभिने कमै थिए होलान् ।

अब त्यो लोभलाग्दो खेल विश्वकपमा हेर्न चार वर्ष पर्खिनु पर्ने भएको छ ।